५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागतीले उचित बजार नपाउँदा मारमा किसान



अ+ अ-

झापा । धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहनुभएका गौरादह नगरपालिका–४ का नवीन आचार्य बजारको समस्याले चिन्तित हुनुहुन्छ ।

आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काउनु भएको छ । कागतीको बोटले मनग्य उत्पादन दिए तापनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछि उहाँजस्तै जिल्लाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् ।

भारतबाट भित्रिने सस्ता कागतीले बजार कब्जा गरेपछि स्वदेशी कागतीले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको आचार्यले बताउनुभयो । “ठूलो लगानी र मेहनत गरेर किसानले कागती फलाउनु भएको छ,” उहाँ भन्नुहुन्छ, “बजार लग्यो बिक्री हुँदैन । भारतबाट भित्रिएका कागतीले बजार पूरै कब्जा गरेको छ । घाटा खाएर बेच्नु पर्दा बित्थामा कागतीखेती गरिएछ जस्तो लाग्न थालेको छ ।”

कागतीमा आत्मनिर्भर बन्ने अभियानमा जिल्लाका सहकारी संस्था, कृषि ज्ञान केन्द्र र स्थानीय तहले केही वर्षयता किसानलाई कागतीखेतीतर्फ प्रोत्साहित गरिरहेका छन् । तर उत्पादन बढेसँगै त्यसको बजार सुुनिश्चित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

पाकेको कागतीको फल बिक्री हुन नसक्दा त्यसको अचार, चुक अमिलोलगायतका सहउत्पादनलाई बढाउनेतर्फ ध्यान जान सके बजारको समस्या समाधान हुने आचार्य बताउनुहुन्छ । न्यूनतम समर्थन मूल्य तोकेरे बिक्री नभएका कागती स्थानीय तहहरुले किनिदिने व्यवस्था हुन सके किसानहरुमा उत्साह थपिने उहाँको सुझाव छ ।

विगतमा चिया बगान मासेर व्यावसायिक कागतीखेती गर्दै आउनुभएका विर्तामोड नगरपालिका–६ का कमलराज विमलीले भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले यहाँको बजारलाई खर्लप्पै खाएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले कागतीको बजार उत्साहजनक नहुँदा किसानहरु निराश बन्न थालेको स्वीकार गर्दै समाधानका उपाय खोज्ने बेला आएको बताउनुभयो । झापामा ३१० हेक्टर क्षेत्रफलमा कागतीखेती हुँदै आएकामा हाल खेती घटेर २७० हेक्टरमा झरेको छ ।

कागतीखेतीका लागि झापा उर्वर भूमि रहेको जनाउँदै उहाँले स्थानीय खपतले मात्र स्वदेशी कागतीको बिक्री धान्न नसक्ने बताउनुभयो । विगतमा बोटबाटै टिपेर राम्रो भाउमा कागती किनेर लैजाने व्यापारीहरु अहिले आउन छाडेको किसानहरु बताउँछन् । भारतबाट भित्रिने सस्तो कागतीतिर स्थानीय व्यापारीहरु आकर्षित भएपछि किसानहरु साना सवारीसाधनमा गाउँ र सहरका गल्ली चहारेर पोकापोकामा कागती बेच्न प्रयास गरिरहेका छन् ।

अर्जुनधारा नगरपालिका–३ बाट सिटी रिक्सामा कागती बेच्दै धुलाबारी आइपुग्नुभएका कुशल थापाले दिनभरि तातो घाममा डुल्दा दश किलो कागती बिक्री भएको बताउनुभयो । “हात्ती र बाँदरले बिगार नगर्ने बाली भनेर जङ्गल छेउछाउका बासिन्दालाई अन्नखेती मासेर कागतीखेती गर्न लगाइयो,” उहाँले भन्नुभयो, “अहिले आएर बिक्री हुन छाड्यो । फलेका कागती बोटमै कुहेर गयो भने किसान कसरी बाँच्ने रु”

जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, गौरादहलगायतका स्थानीय तहमा किसानले घरैपिच्छे कागतीखेती गरेका छन् भने ठूलो क्षेत्रफलमा खेती गर्नेहरु बढेका छन् । खेती विस्तारसँगै बजारीकरणको सकस बढ्दै गएको छ ।

सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए । कागतीखेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् ।

जिल्लामा कम्तीमा ३५० किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन् । केही सहकारी संस्थाले आफैँ र आफ्ना सदस्यलाई यस खेतीमा लगाएका छन् । यहाँ सुन–१, सुन–२, मद्रासी, युरिका र एनपिआरपी–५५ जातको कागतीखेती हुँदै आएको छ । कागतीको उत्पादन बढेपछि यसलाई कच्चापदार्थका रुपमा प्रयोग गर्ने अचार र जुसलगायत ठूला उद्योगहरू स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन् ।

धान र अरू खेतीमा जस्तो खर्च ज्यादा नहुने भएकाले कागती सहज रुपमा बिक्री हुने वातावरण बन्ने हो भने फाइदा हुने कृषि ज्ञान केन्द्रका प्रमुख विष्टको बताउनुहुन्छ । उहाँका अनुसार जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच ५.५देखि ६.५सम्म भएको दोमट माटो कागतीखेतीका लागि उपयुक्त मानिन्छ । रासस