२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले उपत्यकामा केही राहत, चार ठाउँमा भारी वर्षा



अ+ अ-

काठमाडौँ। केही समययता गर्मी महसुस गरिरहेको काठमाडौँ उपत्यकालगायत केही जिल्ल्लामा आज साँझ परेको वर्षाले शीतल हुँदा केही राहत महसुस भएको छ । काठमाडौँ उपत्यकामा आज मध्यम वर्षा भएको छ ।

पछिल्लो ६ घण्टामा देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । तराईलगायत क्षेत्र सुक्खा हुँदा यसपटक खण्डीकृत वर्षा भइरहेको छ । रसुवालगायत क्षेत्रमा ठूलो क्षति हुने गरी बाढी आउँदा तराईलगायतका विभिन्न जिल्ला सुक्खा बनिरहेका बेला आज पनि केही क्षेत्रमा भने भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पछिल्लो ६ घण्टामा मात्रै एक ठाउँमा अति भारी र चार ठाउँमा भारी वर्षा भएको छ । सबैभन्दा बढी पानी सिन्धुपाल्चोकमा भएको छ । त्यहाँको गोब्रे वर्षा मापन केन्द्रमा ११७ मिलीमिटर वर्षा भएको हो ।

यस्तै सिन्धुपाल्चोककै तारके घ्याङमा ५३.४ मिलीमिटर पानी परेको छ । यस्तै मकवानपुरको मार्खुमा ५२.२ मिलीमिटर, मकवानपुरकै सिलिङेमा ६५.४ मिलीमिटर, डोटीको झिङरानमा ५८.४ मिलीमिटर पानी परेको छ ।

विभागका अनुसार ५० देखि १०० मिलीमिटर वर्षालाई भारी वर्षाका रुपमा चिनिन्छ । विभागका सूचना अधिकारी दिनाकर कायस्थले मनसुन कमजोर रहेको र राम्ररी सक्रिय हुन नसकिरहेको बताउनुभयो ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । आउँदो २४ घण्टामा पनि क्षणिक वर्षा हुने भएकाले गर्मी यथावत नै रहने जनाइएको छ । रासस