२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यत्ति बजेट ल्याउन किन मन्त्री चाहियो सचिवले ल्याउन सक्थे : सांसद महत



अ+ अ-

काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले सरकारको बजेटको चर्को विरोध गरेका छन् । 

सांसद गजेन्द्र बहादुर महतले सरकारको बजेटलाई गुटहरुको बजेटको संज्ञा दिनुभयो । उहाँले बजेट निर्माण गर्ने क्रममा जनताका प्रतिनिधिसंग औपचारीक कुरा गर्ने तर शिर्षगत विनियोजनमा कर्मचारीहरुसंग मिलेमतो गर्ने गरिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिलेको बजेट कर्मचारीले चलाएको बजेट छ । अहिलेको दलालले चलाएको बजेट छ । अहिलेको बजेट भित्रियबाट चलाएको बजेट छ ।  अहिलेको बजेट गुटबाट चलेको बजेट छ । ”

सांसदहरुलाई सरकार गठनको बेलामा मात्रै प्रयोग गर्ने गरिएको भन्दै उहाँले सांसदहरुलाई  बाटो खर्च दिएर घर फर्काउन भन्नुभयो ।

उहाँले भन्नुभयो “यत्ति बजेट ल्याउन मन्त्री नै चाहिन्छ ? सचिवले ल्याउन सक्थे यत्ति बजेट , म यतातिर पनि अनुसन्धानमा लागिरहेको छु  यो बजेट ल्याउन हामी माननीय हरु कहाँ जानुपर्छ । गुटको भेलामा जानुपर्छ कि ? कहीँ भेटी चढाउन पर्छ कि ? कर्मचारीहरुको सेवा गर्नुपर्छ कि? के गर्नुपर्छ । यो मन्त्रीले चलाएको बजेट नै होइन । कर्मचारीको सेटिङमा मात्रै आएको देखिरहेको छु । माननीयको बजेट आएकै छैन । माननीयको बजेट एउटा कुनामा छ । सबै कर्मचारीले सेटिङ गरेको बजेट मात्रै छ । अब माननीयहरु चाहिदैन । माननीयहरुलाई सरकार गठन गरिसकेपछि बाटो खर्च दिएर ल जाउ घर । यहाँ सचिवहरु छदैछन् । सिडिओहरु छदैछन् । जे भन्यो हस् हस् हस् भनिहाल्छन् । हामी माननीय त हस् भन्दैनौ । हाम्रै सरकार भए छ भन्दैनौ । अर्काको सरकार भए त झन किन भन्थ्यौ र हामीले ? हस् हस् भन्ने मान्छेलाई यहाँ राख्नुपर्यो हामीहरुलाई विदाई गर्नुपर्यो । किनभने हाम्रा कुरै सुनिदैन । सरकार बन्नेबेला सम्म हामी भाँडो भयौ अब ठाडो भईसक्यौ । ”

उहाँले सरकारको बजेटबाट कोही पनि सन्तुष्ठ नरहेको टिप्पणी गर्नुभयो । उहाँले सरकारको आलोचना बढ्दै गएकाले बजेटप्रति असन्तुष्ठ भएर सरकारको आलोचना गर्न भन्दा किन आलोचना हुन्छ भन्ने अनुसन्धानमा लागेको भन्दै व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “बजेटबाट मान्छेहरु सन्तुष्ठ छैनन् । हामी पनि सन्तुष्ठ छैनौ । सरकारको खाली विरोध गरिरहनु भन्दा किन विरोध भईरहेको छ भनेर अनुसन्धान तिर लागिरहेको छु । माननीयहरु धेरै भएर विरोध गरेको हो कि ? माननीयहरु कम गर्नुपर्ने हो कि ? विरोध धेरै हुन थाल्यो । त्यसैले म अनुसन्धानतिर लागिरहेको छु । जोश जाँगर भएका धेरै कुरा गर्ने मन्त्रीहरु आएका केही हाम्रा कुरा सुन्लान् भनेको त । झन यस्तो वेहाल भईरहेको छ हाम्रो । बजेट किताव हेर्दा कहालीलाग्दो छ । आफैलाई टिठ लाग्दो भईरहेको छ । म ५ बर्षसम्म के गरेर जाने हो ? ”

विद्युतिय सवारी साधनमा कर बढाउनु, निजी स्कुलले सार्वजनिक स्कुलको दायित्व लिने , चकलेटको कर लगायत विषयमा मिलेमतोे भएको दाबी उहाँले गर्नुभयो ।