काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कविहीन भएका हुन् । कर्मचारीहरु हराएपछि गाउँपालिकाले सूचना नै निकालेको छ ।
चालु आर्थिक वर्षको दायित्व भुक्तानी गर्ने अन्तिम दिन बुधबारसम्म हो । तर कर्मचारीहरु बुधबार नै सम्पर्कविहीन भएपछि भुक्तानीमा समस्या भएको पालिकाले जनाएको छ ।
साँझ ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि असार २४ गते बिहान उनी थबाङबाट निस्किएका थिए ।
सूचना अनुसार, कार्यालयको भुक्तिनीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि उनीहरू रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेका थिए ।
उनीहरूसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि नभेटिएको पालिकाको सूचनामा उल्लेख छ ।
‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव–इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको छ ।
उनीहरूको खोजी गर्दा रुकुम पूर्वमा नभेटिएको र कार्यालयको तर्फबाट समपर्क गर्दा पनि सबैको मोबाइल स्वीच्ड अफ रहेको पालिकाले जनाएको छ ।
उनीहरू सबैलाई यथाशिघ्र चाँडो सम्पर्कमा आउन भन्दै पालिकाले सूचना जारी गरेको हो ।
सम्पर्कविहीन भएका कर्मचारीहरू:
– हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत
– हरिश माझी, सहायक प्रशासन पाँचौ
– यज्ञप्रसाद कडेल, सह–लेखापाल
– चन्द्रप्रकाश ओली, सव–इन्जिनियर
– निशा आचार्य, सव–इन्जिनियर
– शिवकुमार वली, खा.पा.स.टे
– प्रदिप के.सी., सवारी चालक











