१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

फूलसँग खेल्दाखेल्दै नर्सरी व्यवसाय सुरु गर्नुभएकी सविना

फूलसँग खेल्दाखेल्दै नर्सरी व्यवसाय सुरु गर्नुभएकी सविना
अ अ+ अ-

खोटाङ। फूल कसलाई मन नपर्ला र ? केटाकेटी होस् या वृद्धवृद्धा जोकोहीलाई मनपर्छ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई कसजू पनि फूलको सौखिन हुनुहुन्थ्यो ।

घर आँगन सजाउने रहरले एउटा, दुईवटा बोट रोप्दारोप्दै घर आसपास फूलले ढाक्यो । अन्ततः त्यही सौख व्यवसायमा परिणत भयो । दुईवर्ष अघि उहाँले ‘सहयोगी पुष्प नर्सरी’ नै दर्ता गर्नुभयो । “यही व्यवसाय गर्छु भनेर सोचेकै थिइँन”, उहाँ भन्नुहुन्छ, “फूल रोप्दारोप्दै व्यवसाय गर्नुपर्ला कि भन्ने सोच आएर नर्सरी व्यवसाय दर्ता गरेकी हुँ ।”

उहाँको नर्सरीमा हाल १०० बढी प्रजातिका फूलका बिरुवा छन् । प्रति बिरुवा रु १५० देखि रु दुई हजार ५०० सम्मका फूलका बिरुवा उहाँको नर्सरीमा पाइन्छ । बगनबेली, लालुपाते, बेगुनिया, एजेलिया, गोदाबारी, पिटोनिया, भर्विना, ग्लाग्सोनिया, सिजेनियम, लिलियम, यन्थोरियम, डेन्थस, गजनिया, जर्भेरा, क्रिसमस ट्री, गोलक्रस, साइकस, सल्फेरा, सिपोटियम, स्नोह्वाइट, चाईना डललगायत प्रजातिका फूलका बिरुवा नर्सरीमा ढकमक्क छन् ।

उत्पादन भएकामध्ये सबैभन्दा बढी बगनबेली, लालुपाते, बेगुनिया र एजेलिया प्रजातिका फूलका बिरुवा बिक्री हुने गरेको उहाँले बताउनुभयो । ग्राहकको माग बढ्दै गएपछि रु चार लाख लगानीमा सुरु गरेको पुष्प व्यवसाय यस वर्षदेखि थप विस्तार गर्ने तयारीमा हुनुहुन्छ ।

आम्दानीसमेत दिन थालेपछि व्यवसाय थप विस्तार गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । “मलाई फूलसँग खेल्न रमाईलो लाग्छ । धेरैजसो समय फूलको बगानमै हुन्छु । रहरै रहरमा सुरु गरिएको फूल खेतीले आम्दानीसमेत दिन थालेको छ, पछिल्लो समय फूलका बिरुवा खरिद गर्न ग्राहकहरु दैनिक आउन थालेका छन् । यसले मलाई व्यवसायिक बन्न प्रेरणा मिलेको छ”, उहाँले भन्नुभयो ।

तीनवटा प्लाष्टिक टनेल बनाएर व्यावसायिक फूल खेती सुरु गर्नुभएका सविनालाई उहाँका श्रीमान इन्द्र कसजूले सहयोग गर्दै आउनुभएको छ । फूलका बिरुवा खरिद गर्ने ग्राहक जिल्लाभित्र र बाहिरका समेत छन् ।

आधिकारिक रुपमा फर्म दर्ता गरेर फूलको बिरुवा उत्पादन गरेर बिक्री गर्नेगरी व्यवसायिक खेती सुरु गरेको पहिलो वर्षबाटै नर्सरीले आम्दानी दिन थालेको सविनाले बताउनुभयो । हाल उहाँले वार्षिक खर्च कटाएर रु एक लाख जति बचत गर्न थाल्नुभएको छ । विस्तारै आम्दानी वृद्धि हुने अनुमान उहाँको छ ।

दुई वर्षअघि इलाम र पाँचथरबाट खरिद गरेर ल्याइएका फूलका बिरुवालाई मूल बोटको रुपमा विकास गर्दै बिरुवा उत्पादन गरेर बिक्री गर्न थाल्नुभएको थियो ।

केही समययता जिल्लामा हुने विभिन्न कार्यक्रममा उहाँकै नर्सरीमा उत्पादित फूलको प्रयोग गर्ने गरिएको छ ।  सदरमुकाम दिक्तेल बजारमै पक्की घरहरु धमाधम बनिरहेकाले घरहरुमा सजाउन पनि स्थानीयले फूलका बिरुवा खरिद गर्नेक्रम बढ्दै गएको छ । नर्सरीको आम्दानीले छोराको पढाइ तथा घर खर्च टार्ने गरेको सविनाले बताउनुभयो ।