२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गणनाको कार्य सुरु गरिएको हो ।

निकुञ्ज र विसिएनका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोप चराको गणनाको कार्य गर्नेछ । “वाइनाकुलर, क्यामेरा, दुरबिन, जिपिएसलगायतको मद्दतले गणनाको कार्य गर्छांै,” नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले भन्नुभयो, “हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमा पुगेर गणनाको कार्य गर्छौं, हिँडेर पुग्न नसकिने क्षेत्रमा हात्तीमा चढेर गणनाको कार्य गर्छौं ।”

निकुञ्जसँगै दुई दिन निकुञ्ज बाह्य क्षेत्रमा पनि गणनको कार्य हुने उहाँले बताउनुभयो । उहाँका अनुसार निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैयालगायत क्षेत्रमा सुनौलो तोप चरा गणनाको कार्य गरिनेछ ।

गणनका क्रममा चराको सङ्ख्यासँगै भाले, पोथीको सङ्ख्या यकिनको कार्य गरिनेछ । योसँगै गुँडको अवस्था कस्तो छ, कुन प्रजातिका रूखमा गुँड लगाउने गरेको छ, रूखको उचाइ, त्यस क्षेत्रमा रहेको घाँसका प्रजाति, आहाराको अवस्था, सिकारी चराले पुर्याउने नोक्सानी, सुरक्षा चुनौती लगायतबारे अध्ययन र अनुसन्धानको कार्य गरिने चराविज्ञ डगौराको भनाइ छ ।

दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोपको अवस्था अध्ययनको कार्य गरी त्यसैअनुरुप संरक्षणको योजना बनाइने निकुञ्जका रेञ्जर प्रयास केसीले बताउनुभयो । उहाँका अनुसार नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चरा पाइन्छ । निकुञ्जको घाँसेमैदानका बीच भागमा यस चराले गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको उहाँले बताउनुभयो ।

“रूखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ, गुँड बनाएर यसले बच्चा जन्माउने गर्दछ,” केसीले भन्नुभयो, “तोप चरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो ।

“त्यसयता निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ, निकुञ्जमा सुनौलो तोप चरा एक सयको हाराहारीमा रहेको छ, किसानको साथीका रूपमा रहेको सुनौलो तोप चराले कीराफट्याङ्ग्रा खान मन पराउँछ,” निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लले भन्नुभयो, “सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ ।”

निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रूखमा गुँड लगाउने यसको विशेषता रहेको उहाँको भनाइ छ । उहाँका अनुसार मनसुनको समय सुनौलो तोप चराले अन्य समयमा भन्दा बढी प्रजनन गर्ने गर्दछ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोप चरासँगै ४०० बढी प्रजातिका चरा पाइन्छन् ।




भर्खरै