काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरुले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाउनुभएको हो । शनिवारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उहाँले एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो सुखद् कार्य रहेको बताउनु भयो ।
यस्तो नतिजामा पनि केही मानिसहरुले अंक थपेर पास गराइयो भन्दै अपमान गरेको बताउनु भयो । नयाँ पुस्ताको मेहनतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै दुःख लागेको बताउनु भयो । नेपाली विद्यार्थीमा मेहनत गरेर आफ्नो उचाई अघि बढाउनसक्ने खुबी रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘खुशीको कुरा हो । यस वर्षको एसईईको परीक्षाको नतिजा प्रकाशित भएको छ । एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले राम्रो नतिजा वृद्धि भएको छ । यस अवसरमा राम्रो नम्बरका साथ उत्तिर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई भन्न चाहन्छु, उहाँहरुको सफलताको शुभकामना भन्न चाहन्छु । ४८ प्रतिशत भन्दा कमको अवस्थाबाट ६१.८१ प्रतिशतको नतिजा पु¥याउन मेहनत गर्ने विद्यार्थी भाई बहिनीलाई धन्यवाद भन्न चाहन्छु, राम्रो ध्यान दिएर विद्यार्थीलाई पढाउने शिक्षकलाई धन्यवाद भन्न चाहन्छु, उहाँहरुको मेहनत सफल भएको छ ।’
प्रधानमन्त्री ओलीले आगामी वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुनेगरी सरकारले आफ्नो योजनाअनुसार अघि बढाउने बताउनु भयो । विद्यार्थी फेल नहुने परिस्थिति निर्माण गर्नुपर्ने बताउनु भयो ।










