२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

सबै खालका शक्ति एमालेविरूद्ध चौतर्फी आक्रमणमाः महासचिव पोखरेल

सबै खालका शक्ति एमालेविरूद्ध चौतर्फी आक्रमणमाः महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमालेमाथि प्रहार गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले असान्दर्भिक भइसकेका राजावादीहरूले एमालेमाथि आक्रमण गर्नुको अर्थ एमाले ठीक ठाउँमा रहेकाले हो भन्नुभयो ।

यो कुरा नयाँ पुस्तालाई बुझाउनुपर्ने र त्यो काम राष्ट्रिय युवा संघ नेपालले गर्न सक्ने बताउँदै महासचिव पोखरेलले यसबाट परिवर्तनको अभियानमा युवालाई जोड्न सकिने धारणा राख्नुभयो ।

एमालेविरूद्ध आफूलाई कम्युनिष्ट भन्ने माओवादी, समाजवादी लगायत पनि लागेका बताउँदै महासचिव पोखरेलले भन्नुभयो– नेपालमा कम्युनिष्ट आन्दोलनलाई मन पराउने जनताको ठुलो हिस्सा छ, त्यो हिस्सा एमालेसँग छ, त्यसैले एमालेलाई कमजोर बनाउँदा मात्र हाम्रो भविष्य बन्दछ भन्ने मान्यताका आधारमा उनीहरूले हाम्राविरुद्ध प्रहार केन्द्रित गरिरहेका छन् ।’

नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेपछि साना दलको राष्ट्रिय औचित्य र भूमिका कमजोर भएकाले छटपटिएका र उनीहरूले आफ्नो भविष्य अन्धकार भएको महसुस गरी आफ्नो भविष्य खोजीका लागि एमालेमाथि आक्रमणमा उत्रिएको उहाँले स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो– ‘चरम अवसरवादी चरित्र बोकेका माओवादी र एकीकृत समाजवादी एमालेको विकल्प बन्न सक्दैनन् ।’

एमालेको सामना गर्न नसकेपछि अहिले माओवादी र एकीकृत समाजवादीले एमालेमाथि सामाजिक सञ्जालमार्फत हमलाको रणनीति लिएकाले यसलाई बुझेर एमाले अघि बढ्नुपर्ने उहाँको धारणा छ ।

वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउन खोज्नेहरू पनि एमाले र एमाले नेतृत्व विरुद्ध केन्द्रित रहेको अवस्थाको जानकारी गराउँदै महासचिव पोखरेलले आफ्नो कुनै इतिहास र भविष्यको योजना नभएका अराजकतावादीहरू भ्रम सिर्जना गरेर आफ्नो स्वार्थ सिद्ध गर्न लागेको महासचिव पोखरेलले बताउनुभयो ।

जान्नेलाई छान्ने भन्ने पार्टीका नेता नै आपराधिक मनोवृत्तिका भएको विभिन्न घटनाबाट स्पष्ट भइसकेको चर्चा गर्दै उहाँले सांस्कृतिक, सामाजिक र कानुनी मूल्य र मान्यता समेत नबुझेका मानिसलाई जान्ने भनेर नेता बनाएर हिँड्नेहरूका नेता अहिले न्यायिक हिरासतमा रहेकोे स्मरण गराउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो– ‘एउटा सहकारीबाट ल्याएको भए झुक्किन सकिन्छ, छ वटा सहकारीबाट पैसा ल्याएर, सहकारी डुबाएर उनी न्यायिक हिरासतमा छन्, अझै पनि युवाका सामु भन्दै छन्, हाम्रो अभियान जारी छ, जान्नेलाई छान्ने अभियान जारी छ ।’

राजनीति सिद्धान्त, सङ्गठन प्रणाली र भविष्यको दृष्टिकोणमा आधारित हुने उहाँले बताउनुभयो ।

वर्तमानमा खेलेर लोकप्रिय हुने सपना देख्नेहरूको सपना एमालेले उडाइदिएको कारण उनीहरू एमालेका विरुद्ध आक्रामक बनेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– ‘हामीले सही काम गरेका छौँ, त्यस अर्थमा हामीमाथि प्रहार भइरहेको छ ।’

नेपालमा कठपुतली बनाउन खोज्ने बाह्य शक्तिले पनि एमाले र त्यसको नेतृत्व विरुद्ध आक्रमण गरिरहेका बताउँदै नेपाललाई बफर जोन बनाउन नपाएकोमा उनीहरूलाई पीडा भइरहेको उहाँले स्पष्ट गर्नुभयो ।

अहिले कांग्रेस–एमालेको सरकार चलिरहेको भए पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको र तहसनहस भएको मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेकाले अब देश विकासले गति लिने विश्वास महासचिव पोखरेलले व्यक्त गर्नुभयो ।

मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नदेखिने तर एमालेमाथि नै आरोप र हमला हुने गरेको बताउँदै जसले हल्ला गर्छ उनीहरूकै मान्छे ती घटनामा संलग्न हुने छानविन र अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

माओवादीको सेटिङमा अवैध सुनको कारोबार भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– ‘माओवादी सरकारमा हुँदा भएको सुन तस्करीले पैसा नभएर बैङ्कहरू नै टाट पल्टने स्थिति आएको तर जब सुन तस्करी रोकियो, त्यसपछि बैङ्कमा चेक जम्मा हुन लाग्यो ।’

अहिले सामाजिक सञ्जाल भ्रम र घृणाबाट निर्देशित भएको भइरहेको र गलत मानिसहरूको सक्रियताको कारण सामाजिक सञ्जाल नै खराब बनेको धारणा राख्दै महासचिव पोखरेलले युवालाई सामाजिक सञ्जालमा सकारात्मक र प्रभाकारी हुन आग्रह गर्नुभयो ।

यसो गर्न सकियो भने सामाजिक सञ्जाल सकारात्मक कुरा प्रवाह गर्ने माध्यम बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । महासचिव पोखरेलले राष्ट्रिय युवा संघका युवालाई भ्रमका पछि लाग्ने होइन तथ्य खोज्न आग्रह गर्नुभयो ।

उहाँले पार्टीमा संगठनात्मक अराजकता र अवसरवाद मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यी दुईवटा प्रवृत्तिलाई पराजित नगर्दासम्म पार्टी सुदृढ नहुने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– ‘अवसरवादबाट हामीले आफूलाई मुक्त गर्न सक्नु पर्दछ ।’

संगठनात्मक अराजकताले गुटबन्दी बढाउने र त्यसले पार्टीलाई कमजोर बनाउने उहाँको भनाइ छ ।

महासचिव पोखरेलले भन्नुभयो– ‘पार्टीमा अनुशासन कायम गर्नैपर्छ, संगठनलाई बलियो बनाउन आलोचना कानमा खुसुक्क गर्नुपर्छ, प्रशंसा खुलेर माइकमा गर्नुपर्दछ ।

नेपाली युवा देश बाहिर जाने कुरा बाध्यता मात्र नभएर कतिपयको रहर पनि भएको स्पष्ट गर्दै उहाँले परम्परागत कृषिलाई व्यावसायिक बनाउन नसक्दा पनि विदेश पलायन बढेको धारणा राख्नुभयो ।