१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु



अ+ अ-

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।

तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने बताउनुभयो । अबको १५ दिनमा परीक्षण सकिने उहाँले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइप लाइन बनाइएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो ।

विद्युतगृहबाट सुरुङको आउटलेटको उचाइ तीन सय ६० मिटर छ । विसं २०७७ मङ्सिरदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो । चार ठाउँबाट सुरुङ खनिएको थियो ।

माछापुच्छ्रे र बिएमइडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । विद्युतगृहबाट रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।

प्रसारण लाइनका ४९ वटा टावर रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ (लिलो) माध्यमबाट जोडिने भएको छ । चिमखोला–मङ्गले–राहुघाटसहित तुदी पावर नै प्रवद्र्धक रहेको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत रु १४ अर्ब रहेको छ ।

अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ । चिमखोला–मङ्गले–राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो । राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१ दशमलव तीन मेगावाटको ठूलोखोला र २२ दशमलव तीन मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् । रासस