२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा पहिलोपटक एक सय ४० रोपनीमा जापानी कटुसखेती



अ+ अ-

पर्वत । जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर वर्षौँदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित ९मेकाडेमिया नट० खेती विस्तार गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित पुवाडाँडामा रहेको एक सय ४० रोपनी क्षेत्रमा मेकाडेमिया नटखेती सुरु गरिएको हो ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, प्रादेशिक आयोजना कार्यान्वयन एकाइ पोखराको सहयोगमा पर्वतमा पहिलोपटक मेकाडेमिया नटखेती सुरु गरिएको छ । उन्नत कृषि कृषक समूहका अध्यक्ष टीकराम उपाध्यायका अनुसार समूहमा आबद्ध २५ भन्दा बढी सदस्यको बाँझो जग्गा उपयोग गरेर खेती विस्तार गरिएको छ । यस वर्ष मेकाडेनिया नटका एक हजार बिरुवा रोप्ने योजना छ ।

आयोजनाको ५० प्रतिशत अनुदानसहित झण्डै रु ४६ लाख लगानी गरेर खेती विस्तार गरिएको हो । यसका लागि पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले रु २३ लाख सहयोग गर्ने भएको छ । झाडी फडानी, सिँचाइ पोखरी निर्माण, मल तथा बिरुवा खरिद, बिरुवा रोपणलगायत कार्य गर्न उक्त रकम खर्च भएको छ ।

यस वर्ष लगाइएको मेकाडेनिया नटले चार वर्षदेखि फल दिन सुरु गर्नेछ । दुई वर्षमै सामान्य रूपमा फल लाग्न सुरु हुने भए पनि चार वर्षदेखि पूर्ण मात्रामा आम्दानी लिन सकिने गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार थोरै ठाउँबाट बढी आम्दानी, रोग तथा जङ्गली जनावरबाट कम नोक्सानी हुने फलफूलको खोजीमा रहेका किसानका लागि मेकाडामिया नट बढी उपयोगी हुने देखिएको छ ।

समुद्री सतहदेखि एक हजार ६०० मिटरसम्मको सुक्खा क्षेत्रमा यसको उत्पादन राम्रो हुने भएकाले अहिले ठुलीपोखरीमा विस्तार गरिएको खेतीबाट प्रशस्त फाइदा लिन सकिने सचिव रेग्मीले बताउनुभयो । मेकाडेमिया नटलाई बदामजस्तै काँचै फुटाएर खान सकिने र यसबाट खानेतेल, चकलेट, बिस्कुट, आइसक्रिमलगायतमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ । यसको बिरुवा जेठ र असारमा रोप्दा राम्रो हुने उहाँले बताउनुभयो ।

मेकाडेमिया नटको एउटा बोटमा प्रतिवर्ष ५० देखि ७० किलोसम्म फल लाग्ने उहाँले बताउनुभयो । बाँदरले खान नसक्ने भएकाले बढी बाँदर लाग्ने ठाउँमा यसको खेती गर्नुपर्ने उहाँको भनाइ छ । बढ्दो बाँदर आतङ्कले खेतबारी बाँझै रहने क्रम बर्सेनि बढेका बेला फलफूलखेती विस्तार गरे किसानको आम्दानी बढाउन सकिने सचिव रेग्मीले बताउनुभयो ।

पर्वतमा पहिलोपटक विस्तार गर्न थालिएको मेकाडेमिया नटखेतीको गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले शनिबार वृक्षरोपण गरेर शुभारम्भ गर्नुभयो । सो अवसरमा मन्त्री श्रेष्ठले बाँझो जमिन सदुपयोग गरेर प्रशस्त आम्दानी लिन सकिने भएकाले यसको खेती विस्तारका लागि आयोजना सञ्चालन गरिएको बताउनुभयो । बढ्दो युवा पलायन, बाँदर आतङ्क, जनशक्तिको अभाव भएकाले एकपटक मेहनत र लगानी गरेर वर्षौँसम्म फाइदा हुने खालको खेतीबाली लगाउनतर्फ किसानलाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, प्रदेशसभा सदस्य भक्त कुँवरलगायतले जिल्लाका अन्य क्षेत्रमा पनि मेकाडेमिया नटखेतीसँगै भौगोलिक आधारमा उत्पादनको सम्भावना भएका फलफूल विस्तारमा जोड दिइने बताउनुभयो । यसअघि गत वर्षदेखि महाशिला गाउँपालिकाले पनि सात सय बिरुवा मेकाडेमिया नट फलका बिरुवा लगाएर व्यावसायिक रूपमा खेती सुरु गरेको थियो । रासस