६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याजले उचित मूल्य पाएन



अ+ अ-

चितवन। जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रमअन्तर्गत लगाईएको प्याजले उत्पादनपछि उचित मूल्य पाउन नसकेको हो ।

तीन पालिकामा लगाइएको प्याज उत्पादन भएर मूल्य नपाउँदा कतिपय किसानले सस्तोमा बेच्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२१ का कृषक बाबुराम धमलाले १६ कट्ठामा लगाउनुभएको प्याजले बजार मूल्य नपाएर बोरामा थन्काउन बाध्य हुनुभएको छ ।

उहाँले भन्नुभयो, “मैले १८ क्विन्टल प्याज उत्पादन गरेको छु । तर बजारमा मूल्य पाउन सकिन ।” बजारमा मूल्य नपाएर विगत एक महिनादेखि बोरामा राख्न बाध्य भएको उहाँ बताउनुहुन्छ । व्यवसायीले प्रतिकिलो रु २५ भन्दा कममा प्याजको माग गर्ने गरेका धमलाले बताउनुभयो । लागत मूल्य पनि नउठ्ने भएकाले उचित मूल्य आएपछि बिक्री गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–२५ की गीता रानाभाट उत्पादन गरेको प्याज प्रतिकिलो रु २० देखि रु ३० मा बेच्न बाध्य भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भण्डारण गरेर राख्न समस्या भएकाले सस्तोमा बेच्न बाध्य भएका छौँ ।”

जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । ती फर्ममा उत्पादित प्याजले बजार भाउ पाउन नसकेको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनको १२ हेक्टर क्षेत्रफलमा करिब १२० टन प्याज उत्पादन भएको छ । यहाँ बजार पाउन कठिन भयो ।”

आयातित प्याजभन्दा यहाँ उत्पादित प्याजको मूल्य कम हुने, यहाँको प्याजको दाना सानो हुने, फुस्रो हुने हुँदा यहाँ उत्पादित प्याजले बजार र मूल्य पाउन नसकेको उहाँको भनाइ छ । नेपालमा हुने प्याज आयातलाई न्यूनीकरण गर्न कार्यक्रम गरिएको उल्लेख गर्दै सूचना अधिकारी अधिकारीले यसलाई भण्डारण गर्नसके अन्य समयमा उचित मूल्यसहित बजार पाउन सक्ने बताउनुभयो ।

उहाँले थप्नुभयो, “अहिले तरकारी बजारदेखि कुनै पनि व्यवसायीले नेपाली प्याज लिन मानेका छैनन् ।” प्याज बिक्री नहुँदा कुहिने, उम्रनेजस्तो समस्या देखिन थालेको उहाँले जानकारी दिनुभयो । अहिले देखिएको समस्या समाधानका लागि आगामी वर्षको कार्यक्रममा योजना बनाउने गरी काम भइरहेको अधिकारीले बताउनुभयो ।

यहाँको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको छ । रासस