काठमाडौं । सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ ।
राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
यसअघि हिजो बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर आजसम्मका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै आएका छन् ।
सत्ता पक्ष र विपक्षीबीच सहमति जुटाउन आज पनि छलफल हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक दलहरुबीच छलफल गरी सदन सञ्चालनको वातावरण बनाउन प्रयास गर्दै हुनुहुन्छ । यस्तै विपक्षी दलहरुको छुट्टै बैठक पनि बस्दै छ ।










