२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी छिट्टै घर घरमा पुर्याउने छौँ : मन्त्री मगर



अ+ अ-

काठमाडौं । मेलम्चीको पानी परीक्षणका लागि सुरुङभित्र पठाउन सुरु गरिएको छ । 

सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणका लागि आजबाट पानी पठाइएको हो । आज विहान ९ः ४५ बजेट अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङमार्गमा पानी प्रवाह सुरु गरिएको हो । २ दशक लामो प्रतिक्षालाई समाप्त पार्दै सुरुङ मार्ग परीक्षण थालनीसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको आयोजना प्रमुख तिरेश खत्रीले बताउनुभयो ।

परीक्षणका लागि सुरुमा प्रतिसेकेण्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पानी प्रवाहको प्राविधिक व्यवस्था गरिउको उल्लेख गर्दै उहाँले २६ किलोमिटरको सुरुङ भर्न २० दिनसम्म समय लाग्ने बताउनुभयो । पूर्ण रुपमा भरिएको सुरुङ १० दिसम्म यथास्थितिमा राखिने छ ।

पानी भरिएकै दरमा खाली गर्न पुनः २० दिनको समय लाग्ने पनि उहाँले बताउनुभयो । सुरुङ खाली भएपछि सुरुङको अवस्थाको परीक्षण गर्न ७ दिन लाग्ने छ । त्यसमा कुनै समस्या देखिएमा ७ दिनभित्र काम सम्पन्न गरिने उहाँले बताउनुभयो । त्यसपछि नियमित रुपमा पानी पथान्तरण गरी नियमित रुपमा पानी पथान्तरण गरी नियमित रुपमा काठमाडौंका लागि उपलब्ध हुने उहाँले बताउनुभयो । 

खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले परीक्षणसँगै मेलम्ची आयोजनाका विषयमा उठ्ने गरेका सम्पूर्ण प्रश्नहरुको उत्तर मिलेको बताउनुभयो । मेलम्ची आयोजना निर्माणका क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आयोजनाको काम सम्पन्न गरेर आजबाट पथान्तरणको काम सुरु भयो । आवश्यक टेष्टिङ प्रक्रिया सकेर उद्घाटनको मिति तय गर्ने छौँ । मिति तय गरेर छिट्टै घर घरमा पानी पुरयाउने छौँ ।’’

निर्माण कम्पनीसँग गरिएको सम्झौताको म्याद पुस मसान्तसम्म रहेको छ । निर्माण काम निर्धारित समयभन्दा पहिले नै सकिने विश्वास लिइएको छ । खोलाबाट अम्बाथान अडिटसम्म पानी पठाएर परीक्षण थालिएको हो । अम्बाथानको अडिट टनेलको ढोका बन्द गरेर सोमबार सुरुङमार्गतर्फ पानी पठाइँदैछ ।

सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो ।