९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

साहसिक पर्यटनको सम्भावना घोर्ले भिर

साहसिक पर्यटनको सम्भावना घोर्ले भिर
अ अ+ अ-

फिक्कल । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा रहेको इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीको तोभाङमा अवस्थित भौतिक पूर्वाधारको अभावमा पर्यटकको आकर्षणको केन्द्र बन्न सकेको छैन । वरिपरि हरियाली डाँडाकाँडा र अधिकांश भूभाग ठूला चट्टानहरु रहेको घोर्ले भिर साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको छ ।

समुन्द्री सतहबाट अनुमानित एक हजार ५०० देखि एक हजार ७०० मिटरसम्मको उचाइमा अवस्थित अन्दाजी १५५ हेक्टर क्षेत्रफलमा फैलिएको घोर्ले भिर प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पन्नताले भरिपूर्ण रहेको छ । स्थानीय ज्येष्ठ नागरिक मनबहादुर बुढाथोकी जङ्गली जनावर घोरल प्रशस्त मात्रा पाइने भएकाले यस भिरको नाम घोर्ले भिर रहन गएको बताउनुहुन्छ । घोरलहरुको बासस्थान भएको कारणले नै घोरल भिरबाट अपभ्रंश हुँदै बोलीचालीमा सहजताका लागि घोर्ले भिर नामाकरण गरिएको उहाँको भनाइ छ । पहिलेपहिले त्यस भिरमा स्थानीय गाउँलेहरुले गाईवस्तु, बाख्रा चराउन लैजाँदा बाख्रासँगै घोरल चर्ने, रमाउने र खेल्ने गरेकाले त्यस भिरको नाम घोर्ले भिर रहन गएको उहाँको भनाइ छ । “हामी केटाकेटी हुँदा बाख्रा चराउन घोर्ले भिर जान्थ्यौँ, त्यतिबेला घोरलहरु बाख्रासँगै चर्ने गर्दथे । बेलुका बाख्रा घरतिर ल्याउँदा घोरलहरु पनि बाख्रासँगै आउने गरेको र बाख्राहरु खोरमा पसेपछि ती घोरलहरु जङ्गलतिरै जाने गरेको बुढाथोकीले सुनाउनुभयो ।

साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरुका लागि घोर्ले भिर आकर्षक गन्तव्य बन्नसक्ने प्रशस्त सम्भावना रहेको स्थानीय समाजसेवी यामकुमार बुढाथोकी बताउनुहुन्छ । “घोर्ले भिर क्षेत्र आसपासमा पदयात्राका लागि उत्कृष्ट वातावरण छ । माङसेबुङ गाउँपालिका कार्यालयदेखि घोर्लेभिर डाँडासम्म र १ नं वडा कार्यालयदेखि घोर्लेभिर डाँडासम्मको पदयात्रा मार्ग निर्माण गर्न सकिन्छ । उहाँले भन्नुभयो, “घोर्लेभिरको चट्टानी संरचना रक क्लाइम्बिङको पनि उत्तिकै सम्भावना छ ।”

त्यस्तै सफा मौसम, हावाको सन्तुलित प्रवाह, उचाइ र खुला भूक्षेत्रको उपलब्धताका कारण घोर्लेभिरमा प्याराग्लाइडिङको समेत सम्भावना रहेको छ । घोर्लेभिरबाट उडेर तलतिर फेवा खोलाको बगरमा अवतरणका लागि दूरीसमेत पर्याप्त हुने भएकाले प्याराग्लाइडिङको सम्भावना पनि उत्तिकै छ । यस क्षेत्रमा साहसिक गतिविधिका लागि हालसम्म सरकारी निकाय र निजी क्षेत्रबाट कुनै सम्भाव्यता अध्ययन भने नभएको वडाध्यक्ष भूपाल योङहाङ बताउनुहुन्छ । “घोर्लेभिर नजिकै लामिडाँडाको शिवालय मन्दिरसम्म त गाउँपालिकाको लगानीमा सडक पु¥याइएको छ । बाँकी कुनै काम गर्न सकिएको छैन,” वडाध्यक्ष योङहाङले भन्नुभयो, “आगामी दिनमा वडाका तर्फबाट समेत घोर्लेभिरको प्रवद्र्धनका लागि कार्यक्रम समावेश गर्नेछौँ ।”

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको संरक्षण र संवद्र्धनका लागि योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले घोर्लेभिरलाई साहसिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सम्भाव्यता अध्ययनको तयारी भइरहेको बताउनुभयो । “घोर्लेभिरमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङजस्ता साहसिक गतिविधि गर्न सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकार र सङ्घीय सरकारसमक्ष पेस गरेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “नेपालका थुप्रै डाँडा टाकुराहरु पर्यटकीय गन्तव्य बनेका छन् । घोर्लेभिर त झन् प्रशस्त सम्भावना भएको क्षेत्र हो”, उहाँले पर्यावरण संरक्षणसँग जोड्दै पालिका पर्यटन विकासमा अघि बढिरहेको बताउनुभयो ।

अध्यक्ष राईले घोर्लेभिरमा पर्यटन प्रवद्र्धन गर्न योजनाबद्ध रुपमा काम गरिने बताउनुभयो । त्यसकै लागि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको योजनाबद्ध रुपमा प्रवद्र्धन गर्नका लागि गएको साता त्यस्ता १८ वटा क्षेत्रको अध्ययन र अनुसन्धान गर्न पर्यटन पदयात्रा सम्पन्न गरेको उहाँले बताउनुभयो । यता, साहसिक पर्यटन विकासका लागि सरकारी नीति स्पष्ट हुन नसक्दा उल्लेख्य प्रगति हुन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् । माङसेबुङका पर्यटन व्यवसायी रोशन राई सरकारी नीति उदार नहुँदासम्म साहसिक पर्यटनको विकास चुनौतीपूर्ण रहेको बताउनुहुन्छ ।

घोर्लेभिरको टुप्पोबाट चारैतिरका डाँडाकाँडा, स्थानीय जीवनशैलीका बस्तीहरु, हरियाली फाँटहरु एकैसाथ देख्न सकिन्छ । मौसम सफा भएको बेला कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल समेत प्रस्टै देखिन्छ । यहाँको मौसम परिवर्तनसँगै देखिने प्राकृतिक दृश्यले जो कोहीलाई स्वर्गीय आनन्द प्राप्त हुन्छ । भौगोलिक बनावटका कारण घोर्लेभिरले प्रकृतिप्रेमी र फोटोग्राफरहरुलाई विशेष आकर्षित गर्ने गर्दछ । स्थानीय बोटबिरुवाको विविधतामा वैज्ञानिक अनुसन्धान, औषधीय अध्ययन र वनस्पतीय पर्यटनका लागि पनि यो ठाउँ सम्भावनायुक्त मानिन्छ । साथै, जैविक कृषि, मौरीपालन र जडीबुटी खेतीको सम्भावनासमेत प्रशस्त छ ।

घोर्लेभिर प्राकृतिक सुन्दरता र जैविक विविधताको दृष्टिले समेत महत्वपूर्ण छ । एकातिर साहसिक गतिविधिको सम्भावना र अर्कोतर्फ हरियाली शान्त वातावरण । पहिलोपटक घोर्लेभिर पुग्ने जो कोहीले स्वर्गीय आनन्द प्राप्त गर्छन् । घोर्लेभिर वरपरको जङ्गलमा घोरलसँगै अन्य जङ्गली जनावरहरुको बासस्थान प्रशस्त पाइन्छ । घोर्लेभिरमा दर्जनौँ गुफा, ओडार, चेप र खोपहरु छन् । ती गुफा, ओडार, चेप र खोपमा घोरल, मृग, चितुवाहरु बस्दथे । अहिले पनि घोरल र मृगहरु प्रशस्त देख्न पाइन्छ । चितुवाहरु भने पाउन छाडिएको स्थानीय गणेश नेपाल बताउनुहुन्छ । “मैले बाल्यकालदेखि घोर्लेभिर हेर्दै आएको छु । पहिले हामी गाईबाख्रा चराउने, जडीबुटी टिप्ने ठाउँ थियो । यहाँ प्रशस्त जङ्गली जनावरहरु पाइन्थे”, उहाँले भन्नुभयो, “अहिले कम हुँदै गएको छ । समयमै यस क्षेत्रको प्रवद्र्धन नगर्ने हो भने यहाँको जैविक विविधता हराउँदै जाने जोखिम रहेको छ ।”

घोर्लेभिर वरपरका जङ्गलमा जैविक महत्वका विभिन्न जडीबुटीजन्य वनस्पतिहरु समेत प्रशस्त पाइन्छ । भोर्ला, चिउरी, लालीगुराँस, सुनाखरी, कुरिलो, असुरो, बुढो ओखर, हटचुर, अमला, हर्रा, बर्रा, पुदिना, तीतेपाती, मालागिरि, पाङ्ग्रा, बल्ढङ्ग्रा, कुकुरडाइनो, सिकारी लहरा, बाबियो, दार, गुर्जोलगायत जैविक महत्वका खोपोन्मुख जडीबुटीहरु पाइन्छन् । घोर्लेभिरको बीच भागमा घोरल र मृगले चाट्ने ‘खार’ नुनिलो स्वादको हुने भएकाले घोरल र मृगले नुनको स्वाद त्यही खार चाटेर लिने गर्दछन् ।

घोर्लेभिर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन । त्यहाँसम्म पुग्न पक्की बन्न सकेको छैन । विद्युत् र खानेपानी पनि विस्तार हुन सकेको छैन । गाउँपालिका कार्यालयबाट बताहा दोभान हुँदै तोभाङ भञ्ज्याङसम्म सवारी साधनमार्फत र त्यहाँबाट करिब आधा घण्टाको उकालो पैदल यात्रापछि घोर्लेभिर पुग्न सकिन्छ । त्यसैगरी अर्को बाटो गजुरमुखी धामदेखि तोभाङ हुँदै भञ्ज्याङसम्म र १ नं वडा कार्यालयबाट भञ्ज्याङसम्म सवारी साधनमार्फत र त्यहाँबाट करिब आधा घण्टाको उकालो पैदल यात्रापछि घोर्लेभिर पुग्न सकिन्छ । त्यसैगरी दमक–चिसापानी–रवि सडकअन्तर्गत हुलाकदेखि देउराली हुँदै लामीडाँडाबाट पनि पैदल यात्रा गरेर यहाँ पुग्न सकिन्छ ।

घोर्लेभिरलाई साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन योजनाबद्ध र दिगो दृष्टिकोण आवश्यक छ । यसका लागि स्थानीय सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय समुदायहरुबीच सहकार्य अपरिहार्य पर्छ । घोर्लेभिरको पर्यटन प्रवद्र्धनका लागि सडक निर्माण, विद्युत् विस्तार, खानेपानीको व्यवस्थापन, शौचालय व्यवस्थापन इन्टरनेटको व्यवस्थापनजस्ता आधारभूत कामको थालनी गर्नुपर्छ । त्यस्तै, सरकारका तर्फबाट घोर्लेभिरको प्राकृतिक र सांस्कृतिक विशिष्टतालाई ‘ब्रान्डिङ’ गर्नेगरी रणनीति बनाई समुदायमा आधारित दिगो पर्यटन विकासमा जानुपर्नेमा जोड दिइएको छ ।

घोर्लेभिरलाई पर्यटनको गन्तव्यका रुपमा विकास गर्नसके स्थानीयलाई रोजगारीको अवसर सिर्जना हुनका साथै आम्दानीसमेत बढ्ने देखिन्छ । यसको प्रवद्र्धनका लागि सरकार, पर्यटन व्यवसायी र स्थानीयबासीको सहकार्य र समन्वयमा अत्यावश्यक छ । यदि यहाँको सम्भावनालाई योजनाबद्ध ढङ्गले उपयोग गर्न सकियो भने यो केवल माङसेबुङको मात्र होइन, समग्र इलाम र नेपालकै गौरव बन्नेमा दुई मत छैन । रासस