काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाइने प्रतिवद्धता जनाउनुभएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आगामी दिनमा बनाइने रंगशाला, र पनःनिर्माण गर्ने क्रममा रहेका रंगशालाहरु अपाङ्गमैत्री बनाइने बताउनु भयो । उहाँले मधेस प्रदेशमा रहेको नारायणी रंगशालालाई पनि अपाङ्गमैत्री रंगशाला बनाइरहेको बताउनु भयो ।
मन्त्री चौधरीले भन्नुभयो, ‘हामीले आगामी दिनमा धेरै रंगशालाहरु, ठूला ठूला रंगशाला निर्माण गर्नुपर्नेछ । पुरानो रंगशालाहरु पनि सोचेअनुसारको मर्मतसम्भार हुन सकेको छैन । मधेस प्रदेशमा नारायणी रंगशाला, नेपालको सबैभन्दा पहिलो दशरथ र दोस्रो रंगशाला नारायणी रंगशाला हो । त्यो रंगशालामा अहिले पनि भौतिक पूर्वाधार राम्रो नभएको हुनाले त्यो रंगशालालाई अपांगमैत्री बनाउने गरी अघि बढिरहेका छौँ । अब नयाँ पूर्वाधार निर्माण र मर्मतसम्भार गर्दा हामी अपांगमैत्री बनाउने अवधारणामा छौँ । अब जति पनि रंगशाला बन्छन्, ति अपांगमैत्री हुनेछन् ।’
मन्त्री चौधरीले दशरथ रंगशाला पनि पूर्ण रुपमा अपाङ्गमैत्री हुन नसकेको र पोखरा रंगशालालाई भने अपाङ्गमैत्री रंगशाला बनाइएको बताउनु भयो ।










