२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँपका रुख सुक्दै गएपछि…



अ+ अ-

महोत्तरी । फलफुल खेतीमा भविष्य खोज्दै बगैँचा बढाउँदै लगेका यहाँका किसान निराश भएका छन् । तराईमा फलफुलको राजा मानिने आँपका बोट धमाधम सुक्दै गएपछि किसानमा निरासा छाएको हो ।

धेरैजसो यसवर्ष नफलेका रुखका पात छपक्कै छोपेर जालो लाग्ने र केही दिनपछि नै आँपका बोट सुक्ने गरेका छन् । गत जेठताका नै यो समस्या देखिएको भए पनि असार अन्त्यसम्म त हजारौँं रुख सुकेर मरेका यहाँका किसानको दुखेसो छ ।

“अन्नबाली लगाउन श्रमिक पाउन छाडेपछि फलफूल खेतीगर्ने निर्णय गरेर आँप बगैंँचा लगाइयो”, पछिल्ला पाँच वर्षयता वर्सेनि बगैंँचामा आँपका रुख थप्दै आउनु भएका बर्दिवास नगरपालिका–९ पशुपतिनगरका फलपूmल किसान ब्रह्मदेव महतोले भन्नुभयो, “अहिले धमाधम आँपका रुख एकपछि अर्को सुक्दै गएपछि मन अड्याउने ठाउँ छैन ।” आफूले रुखमा जालो बसेको देखेपछि शुरुमा वास्ता नगरे पनि क्रमशःजालो बढ्दै गएपछि उपचार गर्दा ठिक नभएको महतोको भनाइ छ ।

पशुपनिगरकै विनोद महतो, सुरजसिंह कुशवाहा, महेन्द्र महतो, अमृत महतो र विजयकुमार महतोसहितका किसानको बगैंँचामा पनि एकपछि अर्को गर्दै १०० भन्दा बढी रुख सुकिसकेका छन् । “समस्या सुन्ने र सल्लाह दिने कोही आउँदैनन्” सुरजसिंह कुशवाहाले भन्नुभयो, “पहिले त जिल्ला कृषि विकास कार्यालय छउञ्जेल बागबानी विज्ञ हुन्थे, अहिले ती सबै कहाँपुगे होलान् ?”आँपमा देखिएको यो माहामारीबीच कुनै निकाय फर्केर आपूmहरुलाई सान्त्वना दिन आएका सुरजको गुनासो छ ।

जिल्लाका सबैजसो भेग र छिमेकका धनुषा र सर्लाहीमा पनि आँपका रुखका पातमा जालोले रुख सुक्ने समस्या निकै बढेको छ । जालोले रुख छपक्कै छोप्ने र केही दिनपछि रुख खङ्रङ सुकेर मर्ने गरेको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान सत्यनारायण यादव बताउनुहुन्छ । “उपचार गरियो, केही सिपचलेन”, यादवले विरक्तिदै भन्नुभयो, “एकपछि अर्को गर्दै १० वटा रुख त मेरै सुकी सके ।” 

जिल्लामा आँपको रुखमा जालो लाग्ने र सुक्ने समस्याले माहामारीकै रुप लिएको किसानको भनाइ छ । महोत्तरीमा मात्रै पछिल्ला दुई महिनाको अवधिभित्र एक हजार भन्दा बढी बोट यो समस्याले सुकेका सरदर अनुमान गरिएको छ । 

यसैबीच कृषि ज्ञान केन्द्र मलङ्वा, सर्लाही (कार्यक्षेत्र–महोत्तरी, सर्लाही) का विज्ञहरुले जालो देखिनासाथ गरिने देखभाल र उपचारले यो समस्या ठिक हुने बताएका छन् । किसानले उपचार गर्दा रुखमा नोक्सान पुर्याउने कीरा जालोको भित्रीपत्रमा लुकेर बसेको हुँदा विषादी उपचारले नमरेको विज्ञको भनाइ छ । पहिले जालो काँडादार भाटाले उधिनेर विषादी उपचार गरे जालो बनाएर आँप सुकाउने कीरा नियन्त्रण हुनसक्ने केन्द्रका निमित्त प्रमुख देवानन्द रायले बताउनुभयो । जालो बनाइसकेपछि मात्र कीराले आँपका पात खान थाल्ने हुँदा देख्नासाथ त्यसलाई उधिन्नु पर्ने विज्ञको सल्लाह छ । 

किसान भने कुनै क्षेत्रको काममा लाग्दा पनि शुख सन्तोष नपाएको भन्दै विरक्तिएका छन् । आफ्नो छटपटी र पीडामा आफ्नै पालिकाका प्रतिनिधिको पनि साथ नपाइएको किसानको गुनासो छ । खासमा जिल्ला कृषि विकास कार्यालय विघटन भएदेखि नै परामर्श र प्राविधिक सरसल्लाह पाउन छाडिएको किसानले बताएका छन् । अब सबै स्थानीयतहमा कृषिशाखा व्यवस्थित गरेर आवश्यक सेवाप्रवाहगरिनुपर्ने किसानले माग गरेका छन् ।

यसैबीच भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले कृषि र बागबानी सम्बद्ध कार्यालयसँग समन्वय गरी यो समस्याको निराकरण गरिने बताउनुभयो । त्यसैगरी जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले जिल्लाका १५ वटै स्थानीय तहलाई आफ्नो कार्यालयमा कृषिशाखा सञ्चालनमाल्याई तत्काल सेवाप्रवाह गर्न आग्रह गर्नुभएको छ ।