तुलसीपुर, (दाङ) । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताउनुभयो ।
फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छभने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ । बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छभने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताउनुभयो । साथै दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् ।
दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार बस ४।३६ प्रतिशत, कार र जीप ८।७१ प्रतिशत, ट्रक, ट्याङ्कर २।६१ प्रतिशत, माइक्रो १।२२ प्रतिशत, टिपर १।९२ प्रतिशत, ट्रयाक्टर ४।७० प्रतिशत, ट्याम्पो ७।४९ प्रतिशत र साइकल ८।०१ प्रतिशत दुर्घटना भएका छन् । सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ । रासस










