९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

सम्पादकीय : नयाँ वर्षले ल्याओस् नेपालीको मुहारमा खुशीको सञ्चार

सम्पादकीय : नयाँ वर्षले ल्याओस् नेपालीको मुहारमा खुशीको सञ्चार
अ अ+ अ-

आजदेखि २०८२ साल आरम्भ भएको छ । नेपालले अपनाउँदै आएको विक्रम संवत्को एउटा सौन्दर्य के भने ऋतुहरूमा श्रेष्ठ मानिने वसन्तयामको ठीक बीचमा नयाँ वर्ष सुरु हुन्छ । नयाँ वर्षको यो दिन हामी नेपालीका लागि नवीन संकल्प गर्ने शुभ अवसर हो । जसरी, अहिले पुराना पात झरेका बोटबिरुवाहरूले नयाँ पालुवा हालेर प्रकृतिको सुन्दरता बढाएका छन्, त्यसैगरी हामी पनि विगतका गल्तीहरू सच्याउँदै नयाँ प्रणका साथ अघि बढ्नुपर्नेछ । अनि देश र जनतालाई उँभो लगाउनुपर्नेछ  । नयाँ क्यालेन्डरको पहिलो पाना पल्टाइएको आजको अवसरमा यस्तो प्रतिबद्धता सरकार र नागरिक दुवैले गर्नुपरेको छ ।

बिदा भएको २०८१ नेपालका लागि त्यति सुखद रहेन । वर्षभरी नै राजनीति र अर्थतन्त्रमा निराशालाग्दा चित्र देखा परे । राजनीतिक अस्थिरता कायमै भयो । बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिले क्षति पुर्‍यायो । अर्थतन्त्रलाई यसले नराम्रोसँग कमजोर बनायो ।

राजनीतिका क्षेत्रमा यो वर्ष सम्झनालायक भएन । राजनीतिक स्थायित्वका लागि भन्दै नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेको भए पनि सुशासनमा ठोस काम भएन । भ्रष्टाचार नियन्त्रण हुनुको सट्टा छानबिन नै हुन छाडेको छ । जनताले राज्यबाट सहज सेवा प्राप्त गर्न सास्ती नै खेप्नुपर्‍यो । राजनीतिक आरोप प्रत्यारोपकै बीच नयाँ वर्ष सुरु भएको छ ।

संघीय संसद्देखि प्रदेशसभाहरुको धेरै समय सरकार गठन र विघटनमै बित्यो । दलहरुबीच आरोप प्रत्यारोप चल्यो । संघीयता कार्यान्वयन गर्ने महत्वपूर्ण कानुन यो वर्ष पनि बन्न सकेका छन् । निजामती, नेपाल प्रहरी, विद्यालय शिक्षा, अख्तियार जस्ता विधेयक प्राथमिकतामै परेनन् । संघीय सरकार र प्रदेश सरकारबीच आरोप प्रत्यारोप चल्यो । अझ स्थानीय सरकारसँग समेत संघीय सरकारले झगडा गरेरै वर्ष २०८१ बित्यो ।

सार्वभौम संसद्लाई छलेर सरकारले पाँच वटा अध्यादेश जारी गर्‍यो । विपक्षीको विरोध र आलोचनाका बीच संसद्बाट ती अध्यादेश पारित भए । अध्यादेश प्रतिस्थापन विधेयकसमेत पारित गरेर देशमा लगानीमैत्री वातावरण बनाएको दाबी सरकारले गरेको छ । यिनै कानुनमार्फत् सेवा प्रवाह सहज हुने अपेक्षा सरकारले गरेको छ । अब यसलाई कार्यान्वयन गरेर वर्ष २०८२ को सुरुवातदेखि नै जनताले अनुभूत गराउने वातावरण बनाउनुपर्ने छ ।

सबै कुरालाई ठीकठाक राख्न तथा व्यवस्थापकीय कौशल देखाउन राजनीतिक नेतृत्वसित इच्छाशक्ति र कार्यक्षमता दुवै हुनुपर्छ  । विडम्बना भन्नुपर्छ, यसबीचमा राजनीतिक नेतृत्वको मूल ध्यान सत्ताभन्दा बाहिर देखिएन । जनताको पीरमर्का बुझ्नभन्दा पनि सरकार आफ्नै कुर्सीको पेचकिला कस्न नै उद्यत रह्यो । यही कारण, सजिलै व्यवस्थापन गर्न सकिने कतिपय कुरामा पनि हामी नराम्ररी चुक्यौं । अरू त के कुरा, राज्य सञ्चालनको मूलआधार संविधानमाथि नै स्वयम् राजनीतिक दलबाट प्रहार भइरहेको छ । संविधानको आ–आफ्नै ब्याख्या गर्ने चलन अझै रोकिएको छैन ।

सरकार र दलहरुले सुशासन कायम गर्न नसक्दा र संविधानको पूर्ण पालना नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुन थालेको छ । संविधानविरोधी समूहहरु सक्रिय हुन थालेका छन् । त्यसको प्रमुख कारण सरकार र राजनीतिक दलहरुले सुशासन र जनतालाई डेलिभरी दिन नसक्दा नै हो ।

हुन त वर्षको अन्त्यतिर देशको अर्थतन्त्रमा सुधार देखिएको दाबी सरकारले गरेको छ । वैदेशिक मुद्रा सञ्चिति बढेको छ । मूल्यवृद्धि नियन्त्रणमा छ । रेमिट्यान्स इतिहासमै सबैभन्दा धेरै यो वर्ष भित्रिएको छ । तर त्यसको उपयोग कति सही ठाउँमा भइरहेको छ या छैन भन्ने चाहिँ प्रश्न छ ।

आजका दिन नीति–निर्माता तथा निर्णयकर्ताहरूले देखिएका भ्वाङहरू टाल्ने र नयाँ प्वाल पर्न नदिने वाचा गर्नुपर्छ । अबको सरकारी प्राथमिकता व्यावहारिक रूपमै कृषि, स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनमा हुनुपर्नेछ । कृषिको स्तरोन्नति गरी खाद्यान्नको परनिर्भरता अन्त्य गर्नेतर्फ पाइला चाल्नुपर्नेछ, रैथाने खाद्य संस्कृतिको जगेर्ना गर्नुपर्नेछ । सार्वजनिक शिक्षा र स्वास्थ्य प्रणालीलाई मजबुद बनाउनुपर्नेछ । समग्रमा हामी सबैले हिजो भएका गल्तीहरूबाट पाठ सिकेर नेपाल र नेपालीको समुन्नतिका लागि कदम अघि बढाउनुपर्नेछ । आजदेखि सुरु भएको नयाँ वर्ष सबै समस्यासँग जुधेर अघि बढ्ने अवस्था सिर्जना होस् । सबैलाई नयाँ वर्ष २०८२ को शुभकामना ।

सुशील अर्याल
प्रधान सम्पादक