
काठमाडौं। एपीएफका क्षितिज खनाल र नेपाल प्रहरीकी निता लम्सालले तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि सोमबार जितेका छन् ।
क्षितिज पुरुष र निता महिलामा च्याम्पियन बने । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा क्षितिजले नेपाल आर्मीका विवेक चौधरीलाई २१–८ र २१–१५ को सोझो सेटमा पराजित गरे । धादिङका सुजन थापा र एपीएफका भोजबहादुर गुरुङ तेश्रो भए ।
नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भएको महिला फाइनलमा निताले आर्मीकी अनुमाया राईलाई सीधा सेटमा २१–१२ र २१–१३ ले हराइन् । आर्मीकी शेस्ना सिर्पाली र स्पोर्ट्स हबकी सीताकुमारी राई तेश्रो बने । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
यु–१७ पुरुष सिंगल्समा प्रहरीका कविर केसीले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका सुविन श्रेष्ठलाई २१–१०, १६–२१ र २१–११ को सेटमा पाखा लगाए । फिट्नेस पार्कका अमन डंगोल र लभ बीएका इमा तामाङ तेश्रो स्थानमा रहे । पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार हात पारे ।
मिक्स डबल्समा एपीएफका क्षितिजले शोभा गौचनसंग मिलेर अर्को स्वर्ण जिते । उक्त जोडीले फाइनलमा प्रहरीका जीवन आचार्य र निता लम्सालको जोडीलाई २१–१२ र २१–५ को सोझो सेटमा पाखा लगाए । आर्मीका पविन लिङथेप र अनुमाया राई तथा आर्मीका विधान अधिकारी र अमिता गिरीको जोडीले तेश्रो स्थानमा चित्त बुझाए । विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रोले ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार पाए ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङ को जोडीले बाजी मारे । सञ्जय र अनिलको जोडीले फाइनलमा तनहुँका देव गुरुङ र कास्कीका शम्भुकुमार श्रेष्ठको जोडीमाथि २२–२० र २१–१७ को जित दर्ता गरे । बालकुमारी रिमिक्स क्लबका शान्त डंगोल र कृष्ण श्रेष्ठ तथा चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडी तेश्रो स्थानमा रहे । शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १०–१० नगद पुरस्कार प्राप्त गरे ।
पुरुष डबल्समा आर्मीका पविन लिङथेप र विधान अधिकारीको जोडीले फाइनलमा सूर्यदर्शनका दीपक राणा र जनिश थकालीको जोडीलाई २१–१६, २२–२० र २१–१४ ले पन्छ्याउदै पहिलो भए । धादिङका राम मल्ल ठकुरी र सुजन थापा तथा बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सुमन शाक्यको जोडी तेश्रो भए ।
पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार पाए ।विजेतालाई ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा गायक राजेश पायल राईलाई आयोजकले सम्मान गरेको थियो ।
आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवार र कोषाध्यक्ष सुजन राईले गायक राईलाई सम्मान गरे । आयोजक क्लबले उद्घाटन कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी प्रीति राईलाई पनि सम्मान गरेको थियो । चारदिने प्रतियोगिता १ सय ३१ खेलाडीको सहभागिता रहेको थियो । विभिन्न छ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।