काठमाडौँ । च्याम्पियन्स ट्रफीको फाइनल आज हुँदैछ । उपाधिका लागि भारत र न्यूजिल्याण्ड २५ वर्षपछि फेरि भिड्दैछन् ।
खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयानुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।
यसअघि सन् २००० मा नैरोबीको मैदानमा भएको फाइनलमा न्युजिल्याण्डले अन्तिम ओभरमा ४ विकेटले भारतलाई हराएको थियो ।
आईसीसी प्रतियोगिताको नकआउट खेलमा न्युजिल्याण्ड भारतमाथि हाबी हुँदै आएको छ । उसले २०१९ ओडीआई विश्वकपको सेमिफाइनल र २०२१ विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई पराजित गरेको थियो ।
आईसीसीको सीमित ओभरको क्रिकेट च्याम्पियन्स ट्रफीको उपाधि न्यूजिल्यान्डसँग छ । सन् २००० मा भारतले केन्या, अष्ट्रेलिया र दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएको थियो ।
अर्कोतर्फ न्युजिल्याण्डले जिम्बाब्वे र पाकिस्तानलाई हराएको थियो । नैरोबीको मैदानमा भएको फाइनलमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो ।
भारतका लागि कप्तान सौरभ गांगुलीले ११७ रन र सचिन तेन्दुलकरले ६९ रन बनाए । यी दुई बाहेक अरु कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् र टिमले ६ विकेट गुमाएर २६४ रन मात्रै बनायो ।
न्युजिल्याण्डले १३२ रनमा ५ विकेट गुमाएको थियो । जहाँ क्रिस ह्यारिसको साथमा क्रिस केर्न्सले इनिङको जिम्मा लिए । दुवैले छैटौं विकेटका लागि १२२ रनको साझेदारी गर्दै भारतलाई खेलबाट बाहिर पुर्याएका थिए । २ बल बाँकी रहँदै केर्न्सले शतक प्रहार गर्दै टोलीलाई जित दिलाए । खेलको प्लेयर अफ द म्याच पनि केर्न्स भए ।
२७ वर्ष लामो च्याम्पियन्स ट्रफी इतिहासमा यी दुई टोली तेस्रो पटक मात्र भिड्दैछन् । जारी प्रतियोगिताको समूह चरणमा भारतले न्युजिल्याण्डलाई ४४ रनले हराएको थियो । अब मार्च ९ मा दुबईको मैदानमा फेरि दुवै टोलि आमनेसामने हुनेछन् ।
आईसीसीका सबै प्रतियोगितामा भारत र न्युजिल्यान्डबीच १६ खेल भएका छन् । न्युजिल्याण्डले १० खेलमा जित निकाल्दा भारतले ६ खेल मात्र जितेको छ । यद्यपि, आईसीसी एकदिवसीय प्रतियोगितामा भने दुबै टोलिले बराबरी खेल जितेका छन् ।
च्याम्पियन्स ट्रफी र एकदिवसीय विश्वकपमा यी दुईबीच १२ खेल भएका थिए, जसमध्ये न्युजिल्याण्ड र भारतले ६–६ खेल जितेका छन् ।
न्युजिल्याण्डले भारतविरुद्धको आईसीसी समूह चरणका खेलमा मात्रै नभई नकआउट चरणमा पनि आफ्नो वर्चस्व देखाउँछ । यी दुईबीच ४ वटा नकआउट खेल भएका छन्, जसमा न्युजिल्यान्डले ३ र भारतले १ मात्र खेल जितेको छ ।
२०२३ अघि न्युजिल्याण्डले तीनवटै नकआउट खेलमा भारतलाई हराएको थियो । यी हारहरू २००० च्याम्पियन्स ट्रफीको फाइनल, २०१९ ओडीआई विश्वकपको सेमिफाइनल र २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनल थियो । २०२३ को विश्वकप सेमिफाइनलमा भने भारतले यो सिलिसिलालाई तोड्दै न्युजिल्याण्डलाई ७० रनले पराजित गर्यो ।
समग्रमा, भारतले एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डमाथि पक्कै दबदबा कायम गरेको छ । यी दुईबीच भएको ९५ ओडीआई खेलमा भारतले ६३ र न्युजिल्यान्डले ३० खेल जितेका छन् । अर्थात् भारतको सफलता दर ६६ प्रतिशत छ ।
भारतका विराट कोहली न्युजिल्याण्डविरुद्ध सर्वाधिक रन बनाउने सक्रिय खेलाडी हुन् । उनले न्युजिल्याण्डविरुद्ध ३२ एकदिवसीय खेलमा ६ शतक प्रहार गर्दै १६५६ रन बनाएका छन् ।
रोहित शर्माले न्युजिल्याण्ड विरुद्ध ९९७ रन बनाएका छन् भने शुभमन गिलले ११ खेलमा ७४ को औसतमा ५९२ रन बनाएका छन् ।
न्युजिल्यान्डविरुद्ध सबैभन्दा बढी विकेट लिने सक्रिय भारतीय खेलाडी मोहम्मद शामी हुन् । उनको नाममा १५ एकदिवसीय खेलमा ३७ विकेट छन् । शामीले २०२३ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा टोलीविरुद्ध ७ विकेट लिएका थिए ।
न्युजिल्याण्डका केन विलियम्सन सक्रिय ब्याट्सम्यान हुन् जसले भारतविरुद्ध सर्वाधिक रन बनाएका छन् । उनले ३० एकदिवसीय खेलमा १ शतक सहित १२२८ रन बनाएका छन् । यस्तै, म्याट हेनरी २१ विकेट लिएर भारतविरुद्ध सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले पछिल्लो खेलमा पनि ५ विकेट लिएका थिए ।










