काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ अबेर बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग स्पष्टीकरण सोध्ने अधिकार उर्जामन्त्री दीपक खड्कालाई दिने निर्णय गरेको हो ।
घिसिङलाई हटाउनका लागि तीन दिने स्पष्टीकरण सोध्ने अधिकार दिइएको हो ।
ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने अधिकार दिएको बताइएको छ । ‘बिजुलीको भाउ भारतमा गएर बढाउने निर्णय गरेको । मन्त्री र सचिवलाई नसोधेको । सरकारलाई सहयोग नगरेको । प्राधिकरणको विनियमावली आफैंले बनाएकालगायतका कुरा मन्त्रीले राख्नुभयो । लामो भूमिका राखेपछि तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न मन्त्री खड्कालाई अधिकार दिइएको छ,’ एक मन्त्रीले भने, ’तपाईंलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्न अधिकार दिइएको छ ।’
यसैबीच बैठकले स्वास्थ्य सचिवमा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् ।
२०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको डा. देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् ।
खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए । झापाको गौरादह स्थायी घर भएका खरेललाई त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।
२०६४ र २०७० मा संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री थिए ।
उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् ।










