काठमाडौँ। भारत आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
सेमिफाइनलमा अस्ट्रेलियाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि पूर्वकप्तान विराट कोहली उत्कृष्ट पारी खेले ।
कोहलीले शानदार ब्याटिङ गर्दै ८४ रन जोडे । उनले ९८ बलमा ५ चौका प्रहार गरे । कप्तान तथा ओपनर रोहित शर्माले २८ रन बनाएका थिए भने अर्का ओपनर शुभमन गिल ८ रनमा आउट भए ।
श्रेयस अय्यर ४५ रन र अक्षर पटेल २७ रनमा आउट भए। केएल राहुलले नटआउट ४२ रन बनाउँदा हार्दिक पाण्ड्या २४ बलमा २८ रन जोडेर आउट भए।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया ४९.३ ओभरमा २ सय ६४ रनमा अलआउट भयो ।
उसका लागि स्टिभ स्मिथ र एलेक्स केरीले अर्धशतकीय पारी खेले । स्मिथले ९६ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७३ रन बनाए । यस्तै, ५७ बलमा आठ चौका र एक छक्काको सहयोगमा ६१ रनको पारी खेले ।










