काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपकाे उपाधि जितेको छ ।
मछिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे। मछिन्द्रले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो। खेलको २९औँ मिनेटमा सनिसले गरेको प्रहार आर्मीका रक्षक विमल पाण्डेबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो। ७३औँ मिनेटमा स्टेफन जमाह जलीले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए।
जलीले मलिक युसुफको क्रसमा ड्याप इन गोल गरे। यसपछि थप गोल नहुँदा मछिन्द्र लगातार तेस्रो पटक च्याम्पियन बनेको हो। केपी ओली कपको पहिलो, दोस्रो संस्करण जितेको मछिन्द्रले तेस्रो संस्करणको उपाधि पनि आफ्नो पक्षमा पार्यो ।










