काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा अदालतले मिसिल झिकाउने आदेश गरेको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउने आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा असार ५ गते कञ्चनपुरबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको थुनामा पठाउने उक्त आदेशविरुद्ध झा उच्च अदालत पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी गत माघ २ गते सर्वोच्च पुगेका थिए ।










