६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मुक्तिनाथमा कोरोना

मुक्तिनाथमा कोरोना
अ+ अ-

वासुदेव पौडेल/निरज थकाली, गण्डकी । गण्डकी प्रदेशअन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ अत्यधिक जाडो समयमा एक दुई महिना बाहेक वर्षैभर चहलपहल हुने स्थल हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा यतिखेर कोरोना कहरको प्रभाव परेको छ ।

कोरोनाको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ सरकारले गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीसँगै सर्वसाधारणका लागि पूजाआजामा लगाइएको रोक अहिले पनि कायमै छ । चैत र वैशाख महिना मुक्तिनाथमा पर्यटक ठूलै सङ्ख्यामा पुग्ने गर्दथे तर यसपटक भने कोरोनाको बढ्दो सङ्क्रमणसँगै गरिएको बन्दाबन्दीले तीर्थालु मुक्तिनाथ जान पाएनन् । 

बन्दाबन्दीपछि मन्दिरमा बिहान बेलुका नियमित पूजाआजा गरिए पनि तीर्थालुका लागि भने मन्दिर हालसम्म पनि खुल्ला नगरिएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । “कोरोना सङ्क्रमणका कारण मन्दिरमा सर्वसाधारणका लागि पूजाआजामा रोक लगाइएको छ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीयता बिहान बेलुकाको नियमित पूजाआजा भने निरन्तर गरिँदै आइएको छ ।”

मुक्तिनाथ मन्दिरमा दर्शनार्थी जाने महत्वपूर्ण याममा प्रत्येक वर्ष आश्विन कृष्णपक्ष अर्थात पितृ पक्ष पर्दछ । सोह्र श्राद्धका रूपमा लिइने यस समयमा यहाँको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार हुने जनविश्वासले देशका विभिन्न भागका दर्शनार्थी आउने गर्दछन् । यस वर्ष यही भदौ १७ गतेदेखि सोह्र श्राद्ध शुरु हुँदैछ । प्रत्येक वर्षको सोह्र श्राद्धको समयमा मुक्तिनाथमा दैनिक ५०० देखि एक हजार जनासम्म तीर्थालु आउने गर्दछन् ।

मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको आगमन हुने याम नजिकिँदै गर्दा कोरोनाको कहरका कारण यो क्षेत्र अझै सुनसान जस्तै रहेको मुक्तिनाथ गाउँका पूर्व मुखिया एवं होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिनुभयो । “कोरोनाको सन्त्रास यथावत नै छ, मुक्तिनाथ मन्दिर खोल्ने नखोल्ने विषयमा प्रशासनबाट केही निर्णय आउला”, उहाँले भन्नुभयो, “प्रशासनले खोल्ने निर्णय गरेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटेलहरू सञ्चालन गर्ने कि भन्ने सोच छ ।” कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दी गरेसँगै होटेलहरूमा काम गर्ने कर्मचारी आफ्नो घर गएका कारण होटेल सञ्चालन गर्ने तय भएका अवस्थामा उनीहरूलाई काममा फिर्ता बोलाउनु पर्ने अवस्था हरेको होटेल सञ्चालकहरू बताउँछन् ।

कोरोनाको सङ्क्रमण बढिरहेको विद्यमान अवस्थामा मुक्तिनाथ मन्दिर खोल्ने निर्णय भइनसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो । सोह्र श्राद्धको समयमा मुक्तिनाथ जाने दर्शनार्थीको प्रभाव पर्यटकीय नगरी पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्दछ । विगतमा सोह्र श्राद्धको समयमा मुक्तिनाथ जाने दर्शनार्थीको चापलाई दृष्टिगत गर्दै पोखरादेखि जोमसोम उडान गर्दै आएका एयरलाइन्सहरूले नियमित उडानले नभ्याएपछि थप उडान समेत गर्दै आएका थिए ।

सोह्र श्राद्धको समयमा मुक्तिनाथ जाने पर्यटकका कारण पोखराको पर्यटनलाई पनि चलायमान गराउने गरेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताउनुभयो । “देशका विभिन्न स्थानबाट मुक्तिनाथ जाँदा आउँदा धार्मिक पर्यटकहरू पोखरामा एक दुई दिन बिताउँदा पनि त्यसले यहाँको पर्यटनमा राम्रै टेवा पुर्याएको थियो”, उहाँले भन्नुभयो । कोरोनाको कहरसँगै पर्यटकीय नगरी पोखरासहित देशका प्रमुख पर्यटकीय गन्तव्य प्रभावित भएको थापाले बताउनुभयो ।

पछिल्ला वर्षमा मुक्तिनाथको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै यहाँका पर्यटन व्यवसायीले होटलको सङ्ख्या, सुविधा र लगानी पनि बढाउँदै आएका छन् । मुक्तिनाथ मन्दिरकै मुख्य प्रवेशद्वार रानीपौवा र आसपासमा मात्रै पनि दैनिक दुई हजारसम्म स्वदेशी एवं विदेशी पर्यटक राख्नसक्ने गरी यहाँका होटेलको क्षमता विस्तार गरिसकेको होटेल ग्रान्ड साम्बालाका सञ्चालक गुरुङले जानकारी दिनुभयो । पोखरा, काठमाडौँ, चितवनलगायत शहरका होटल सरहका सुविधा यहाँका होटलमा पाइनुका साथै कोठाबाटै हिमाल र मनोरम भू–बनोट अवलोकन गर्न सकिन्छ । जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको उक्त मन्दिर समुद्र सतहबाट तीन हजार ७०० मिटर उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडौँ, सुनौली, बेनी र मालढुङ्गाबाट सवारीसाधन पाइन्छन् ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पूण्यभूमि मानिन्छ । भगवान् विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती छ । ती १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ मुक्तिनाथको मूर्ति रहेको र विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएको छ । पद्मसम्भवले तपस्या गरेको स्थल भएका कारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । त्यस्तै हिन्दूले भगवान विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्दछन् ।