६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जातीय विभेदले आफ्नै बाबुको शव छुन नपाएका बुढाक्षेत्री

जातीय विभेदले आफ्नै बाबुको शव छुन नपाएका बुढाक्षेत्री
सांकेतिक तस्बिर
अ+ अ-

सन्तोष पुर्कुटी, ताप्लेजुङ । जन्म दिने बाबुको निधनले धरधरी आँसु झरिरहेका बेला कसैले मृत शरीरलाई हेर्न र छुन मात्रै नभई दाहसंस्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शोकमा डुबेका मानिसलाई कति पीडा हुँदो हो । त्यही पीडादायी परिस्थितिमा ‘हाम्रो कुल वंशबाट नै निकालिएको, तँ तल्लो जाति’ को भनेर आफ्नै दाजुभाइले नानाथरी गाली गरेर घचेट्दा कति मन जल्दो हो । यस्तो परिस्थितिको कल्पना गर्न पनि सकिन्न ।
 
तर यस्तै पीडादायी परिस्थितिले छटपटाएर न्यायको खोजीमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री सदरमुकाम फुङलिङ आउनुभएको केही दिन बित्यो । समाजमा अहिले दलित समुदाय र अन्य जातिबीच जातीय भेदभाव कायमै छ । दलित समुदायका छोरीचेली विवाह गरेकै कारण आफ्ना दाजुभाइ र समाजबाट बहिस्कारमा परेका थुप्रै उदाहरणमध्ये बुढाक्षेत्री पनि एक हुनुहुन्छ । गाउँमा सानैदेखि चिनजानमा रहेकी विश्वकर्मा थरकी महिलासँग प्रेमपछि वैवाहिक सम्बन्धमा जोडिनुभएका राजिन्द्र त्यसबेलादेखि नै गाउँ समाजबाट एक्लो हुनुभयो । विसं २०६० सालमा उहाँबीच विवाह भएको थियो । विवाहपश्चात् घरबाट अन्यत्रै छुट्टिएर बस्नुभएका राजिन्द्रको परिवार समाजको नजरबाट टाढै बने पनि आफ्नै दुनियाँमा रमाउँदै आयो ।
 
यत्तिकैमा गएको साउन १० गते अचानक बिरामी पर्नुभएका आफ्ना बाबुले घरमा बोलाएर उपचारमा लैजानू भनेपछि राजिन्द्र उपचारका लागि बाबुलाई लिएर झापाको विर्तासिटी अस्पताल पुग्नुभयो । केही दिन अस्पतालमा बसेपछि बाबुलाई केही सञ्चो भए जस्तो देखियो र बिरामी परेका बाबुले नै घर लैजानू भनेपछि साथमा लिएर साउन १७ गते राजिन्द्र घर फर्किनुभयो । घर आइपुगेको भोलिपल्ट साउन १८ गते नै पुनः बुबा सिकिस्त बिरामी पर्नुभयो । सिकिस्त बिरामी परेपछि बाबुको बैतर्नी गर्ने निधो भयो । उक्त समयमा एकाघरका दाजु प्रेम बुढाक्षेत्रीले ‘तिमीहरु छोराछोरीसहित परिवारै घर जानु, यहाँ बस्दा बिटुलो हुन्छ, अशुद्ध हुन्छ, तिमीहरु अछूत कामी जातका मानिस हौ र तिमीहरुलाई हाम्रो बुढाक्षेत्रीको कुल परिवारबाट हामीले बहिस्कार गरिसकेका छौँ’ भनेर आफुलाई त्यहाँ बस्न वञ्चित गरेको राजिन्द्रले बताउनुभयो । त्यही दिन दिउँसो साढे १ बजे राजिन्द्रका बुबा बित्नुभयो ।
 
मृत्युपछि परिवार शोकमा डुब्यो । अरु दाजुभाइ छरछिमेक सबै भेला भए । सँगैमा अरु सबैले मृत शरीर नजिक गएर हेरे, रोए कराए तर राजिन्द्र, उहाँकी श्रीमती फुलमाया र उहाँहरुका छोराछोरीलाई नजिक जानसमेत वञ्चित गराइयो । दाहसंस्कारका लागि शव उठाउन तयार हुँदासम्म राजिन्द्रले आफ्ना मृत बाबुको शरीर छुन पाउनुभएन । दाहसंस्कारका लागि घाटमा शव उठाएर लैजाने बेला भएको थियो । नाताले काका पर्ने रामबहादुर बुढाक्षेत्रीले समाजको अघि आएर ‘तिमीहरु अछूत कामी जातका मानिसहरुलाई क्षेत्रीको हुद्दामा आउन दिँदैनौँ, तिमीहरुले घाटमा जान, केस काट्न, काजक्रिया गर्न पाउँदैनौ’ भन्नुभयो । “मलाई पीडामाथि पीडा थोपरियो, चुप लागेर बस्नुबाहेक मसित कुनै विकल्प थिएन”, राजिन्द्रले भन्नुभयो । 

यस्तै सिदिङ्वा गाउँपालिकाको हुलाक कार्यालयमा कार्यरत बुद्धिप्रसाद बुढाथोकीले ‘लाससमेत छुन पाउँदैनौ अब उप्रान्त सेन्चुरी जात लेख्नू’ भनेर हप्कीधप्की गरेको उहाँले बताउनुभएको छ । उहाँका अनुसार यसरी आफ्ना आफन्त, दाजुभाइले जातीय भेदभावसहित गालीगलौज गर्दा समाजका अरु मानिस मुखामुख गरिरहेका देखिन्थे । “त्यहाँ जम्मा भएका पुरोहितलगायत केही बाहुन समुदायका मानिसले राजिन्द्र पनि कुलप्रसादकै छोरा हो, दाजुभाइसँगै बसेर क्रिया बस्दा हुन्छ भन्दाभन्दै पनि चार जनाले गालीगलौज गर्दै दाहसंस्कारका लागि घाटमा जान, लास हेर्न र छुनसमेत वञ्चित गराए”, उहाँले भन्नुभयो । बाबुको लास लिएर अरु घाटतर्फ लागेपछि आफू आफ्नो परिवार लिएर छुट्टिएर बसेको घरतर्फ गएको र दलित समुदायकै पुरोहित बोलाएर १३ दिन क्रिया बसी बाबुको १३ दिने संस्कार सकाएको बुढाक्षेत्रीले बताउनुभयो ।
 
विश्वकर्माका छोरीसित विवाह गरेदेखि आफू घर परिवार र गाउँ समाजबाटै अलग्गै बन्नु परेको उहाँको भनाइ छ । उहाँका अनुसार यसअघि मूलघरमा भने आउने जाने हुन्थ्यो भने बाबुसँगको सम्बन्ध पनि ठिकै थियो । जातीय विभेदसहित बाबुको दाहसंस्कारमा सामेल हुन वञ्चित गराएपछि यसमा संलग्न चार जना विरुद्ध बुढाक्षेत्रीले बुधबार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा किटानी जाहेरी दर्ता गराउनुभएको छ । जिल्लाको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु घर भई हाल इटहरी बस्दै आउनुभएका प्रेम बुढाक्षेत्री, सिदिङ्वा गाउँपालिका–४ का रामबहादुर बुढाथोकी, सोही ठाउँका क्रमशः बुद्धिप्रसाद बुढाथोकी र खड्क बुढाथोकी विरुद्ध जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै राजिन्द्र र उहाँकी श्रीमती फुलमायाले जाहेरी दिनुभएको हो ।
 
न्यायको खोजीमा कोरोना सङ्क्रमणका बीच गाउँबाट सदरमुकाम आउनुभएका क्षेत्रीलाई संयुक्त दलित अधिकार मञ्च ताप्लेजुङले जाहेरी दर्ता गराउनेसम्मको कार्यमा सहयोग गरेको छ । मञ्चका अध्यक्ष छत्र विश्वकर्माले यो एउटा प्रतिनिधिमूलक घटना मात्रै भएको साथै गाउँघरमा जातीय भेदभावजन्य आपराधिक घटना प्रशस्तै रहेको बताउनुभयो । यस्ता घटना विरुद्ध सबैले आवाज उठाउन आवशयक भएकोमा उहाँले जोड दिनुभयो ।
 
यता राजिन्द्र बुढाक्षेत्री र उहाँकी श्रीमती फुलमाया विश्वकर्मा (बुढाक्षेत्री) सहितले दिएको जाहेरीका आधारमा आवश्यक कानूनी कामकारवाही अघि बढाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पीडित परिवारले छुवाछूत तथा भेदभाव ९कसुर र सजाय० ऐन, २०६८ बमोजिम दोषीलाई हदैसम्मको सजाय गरी न्याय दिलाइदिन अनुरोध गरेको छ ।

सदियौँदेखि समाजमा चल्दै आएको जातीय भेदभाव ताप्लेजुङमा समेत अझै कायमै छ । बजार क्षेत्रमा बसोबास गर्ने पछिल्लो पुस्ता र केही सामाजिक क्षेत्रमा रहेका मानिसले भेदभावजन्य गतिविधि नगरे पनि बाँकी समुदायले भने भेदभावका व्यवहार त्याग्न सकेका छैनन् । दलित समुदायका मानिस जातीय भेदभावमा परे कानूनी उपचार खोज्न भने डराउने गरेको संयुक्त दलित अधिकार मञ्चको ठहर छ ।
 
भेदभावजन्य कार्यले पीडा भए पनि उजुरी दिँदा भोलि गाउँ समाजमा अप्ठ्यारोमा परिने हो कि भन्ने डरले पनि कानूनी उपचारको बाटोमा नलाग्ने गरेको पाइएको मञ्चका उपाध्यक्ष गङ्गा शङ्खरले बताउनुभयो । यसरी समाजमा रहेको जातीय भेदभावलाई न्यूनीकरण गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यकता भएकोमा उहाँको जोड छ ।