१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोज आयोजना गर्नेलाई नै कोरोना संक्रमण भएपछि…



अ+ अ-

 

बागलुङ । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । 

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशङ्का गरिएको छ । कोरोना जोखिमको समयमा छोरी जन्मँदा गरिने न्वारनमा ठूलो जमघट गरी भोज गरिएको पाइएको छ ।  
 
लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उहाँले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाउनुभएको थियो । भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएको पाइयो । छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका सेनामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब  सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिनुभयो । 

“कोरोना समुदायमा गइसेकेको अवस्थामा न्वारनमा सचेत व्यक्तिबाटै स्वास्थ्य मापदण्ड नअपनाई भोज गरेको पाइयो”, आचार्यले भन्नुभयो “न्वारनमा भोज दिनेमै कोरोना देखिएपछि ७० जनाको स्वाब सङ्कलन गरेका छौँ, समाजमा सामान्य सचेतना नअपनाउँदा भयावहको अवस्था आउन सक्छ ।” नगरपालिकाले शुक्रबार गलुवा पुगेरै स्वाब सङ्कलन गरेको छ । 

सङ्क्रमितका परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ ।  स्वाब सङ्कलन गरिएका ७० मध्ये न्वारान गरिएकी २२ दिनको छोरीसमेत परेकी छिन् । 

नागरिकस्तरबाटै सचेतना नअपनाउने हो भने एकल प्रयासले मात्र कोरोना नियन्त्रण गर्न नसकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । “राज्यले भीडभाड नगर्नू, सामाजिक कार्य गर्दा सतर्कतासहित सामान्य गर्नू भनेकै छ, तर गाउँमा भोजभतेर, पूजापाठ, विवाहोत्सव चलेकै छ”, खनालले भन्नुभयो, “यस्तो गतिविधि शहरमा रोकिए पनि गाउँमा नरोकिएको पाइएको छ ।” 

समुदायका मानिसमा कोरोना सचेतना नअपनाउँदा बागलुङ नगरपालिकाभित्र तीव्रगतिमा कोरोना फैलिएको छ । नगरभित्रको समुदायस्तरमा एक दर्जन व्यक्तिलाई कोरोना पुष्टि भइसकेको छ । नगरपालिकाभर भदौ १५ गतेसम्म निषेधाज्ञा जारी छ ।