काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपाल र म्यानमारबीचको खेल जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा दुबै टिमले २–२ को बराबरी खेलेका छन् ।
खेलको पाँचौं मिनेटमा नै म्यानमारले अग्रता लियो । म्याट नोइ खिनले गोल गर्दै म्यानमारलाई सुरुवाती अग्रता दिलाइन् ।
उनले फ्रिकिकबाट उत्कृष्ट गोल गरिन् । २५ यार्ड परबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भयो । नेपालकी गोलकिपर अञ्जना राना मगरले बल रोक्न सकिनन् ।
खेलको ११ औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी सविता राना मगरले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् । साबित्रा भण्डारीले उपलब्ध गराएको पासमा सविताले ट्यापिङ गर्दै गोल गरिन् । सावित्राले म्यानमारका डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट पास उपलब्ध गराइन् ।
१६ औं मिनेटमा पुनः म्यानमारले अग्रता लियो । मे हेतेत लुले गोल गर्दै टोलिलाई २–१ को अग्रता दिलाइन् । नेपालका डिफेन्डरको गल्तीलाई सदुपयोग गर्दै उनले गोल गरिन् । नेपालका डिफेन्डरले बल क्लियर नगर्दा त्यसको फाइदा उठाउँदै लुले गोल गरिन् ।
४० औं मिनेटमा नेपालले बराबरी गर्यो । साबित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै नेपाललाई २–२ को बराबरीमा ल्याइन् । प्रिति राईले उपलब्ध गराएको पासमा साम्बाले गोल गरिन् ।










