काठमाडौँ । केही दिनयता मिल्यो भनिएको नेकपाको झगडाका केही झिल्का सोमबार साँझ देखिएका छन् । उता बालुवाटारमा डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन बालुवाटारमा नेपालका केही पश्चिमा दाताहरुले दबाब दिइरहँदा यता भैँसेपाटीबाट पनि प्रधानमन्त्रीलाई बामदेवाको अर्काे दबाब आएको छ । वर्तमान अर्थमन्त्री खतिवडाको मन्त्रीपद ४ दिन पछि सकिँदैछ । अब उनी सांसद पनि नरहनेगरी निस्किँदैछन् । प्रधानमन्त्रीका प्रियपात्र मानिएका खतिवडा ओलीबाहेकको अर्काे घेरामा देखिँदैनन् । उनले प्रधानमन्त्री ओलीसँग यस्तो गोलघेरा बनाएका छन् कि त्यसभित्र ओलीले अर्काे कुनै व्यक्ति देख्नै मान्दैनन् । यसले नेकपा भित्र यस्तो अवस्था आएको छ कि उनका कारणले अब अरु पक्ष त के ओलीकै घेराभित्रका मानिस पनि टाढिएका छन् । उनका कारण पार्टीमा नै एक किसीमको ओलीकै विरोधी समूहको जनमत बढ्दै गएको छ । यसअघि नै निस्किनुपर्ने खतिवडाले छ महिनाअघि पनि तिनै दाताहरुलाई दुरुपयोग गरे, प्रधानमन्त्रीलाई दबाब दिन लगाए र सत्तामा थप छ महिना भए पनि बस्न पाए । र अहिले पनि यही मोडेल अघि सारेका छन् ।
सायद यही बुझेरै हुनसक्छ आज साँझ बामदेवले पनि आफूलाई राष्टिय सभामा लैजाने निर्णय कार्यान्वयन होस् भनेका छन् । उनले साँझ केही मिडियामा यो समााचार यसरी हिट गराएका छन् कि ठीक त्यसबेला बालुवाटारमा प्रधानमन्त्रीलाई दाताहरुले आफ्नो पक्षमा दबाब दिन अर्थमनन्त्रीले लगाएका थिए । खासगरी पश्चिमा राष्ट्र र दक्षिणी छिमेकीसँगको सन्निकटताका कारण अर्थमन्त्रीले चिनियाँ सहयोगलाई बेवास्ता गर्दै आएका छन् । उनलाई चिन्नेहरु भन्छन् खतिवडाले हिजो संसदमा आंशिक रुपमै एमसीसी पारित गराएका थिए । यसले सिंगो पार्टीलाई नै विवादमा पारेको कुरा प्रधानमन्त्रीलाई थाहा नभएको होइन, तर भएर पनि उनले केही गर्न सकेका छैनन् ।
सरकारमा बसेका खतिवडा मार्काहरुले देशलाई खतिबाहेक केही दिएका छैनन् । मात्र उनी यही असारमा मन्त्रीबाट बाहिरिएपछि कसरी अमेरिकाको राजदूत हुने भन्ने मात्र ध्याउन्नमा थिए । तर उनले पछिल्लो समयमा राजदूत भन्दा मन्त्रीमै फाइदा देखे । त्यसमा पनि अझै उनले सञ्चारमन्त्री पनि पाएका छन्, त्यसैमा उनी रमाएका छन् । त्यसबाहेक कर्मचारी मन्त्री खतिवडाले सत्तारुढ दल र नेकपाको सरकारलाई नै खतिबाहेक अरु केही नपुराउने कुरा नेकपाकै सांसद नविना लामाले संसदमै केही समयअघि भनेकी थिइन् ।
यसका अलावा तीन वर्षअघि नेपालले बिआरआइमा कहिले हस्ताक्षर गर्छ भन्ने व्याकुल प्रश्न सोध्ने नेपालको कूटनीतिक र राजनीतिक वृत्तमा यसको तीन वर्षपछि यतिखेर अर्को प्रश्न थपिएको छ– के नेपाल बिआरआईबाट पछि हट्न लागेको त होइन ? आखिर यो अवस्था पनि खतिवडाकै कारणले आएको छ । यो प्रश्नमा कूटनीतिक क्षमताबिहीन वर्तमान परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको असक्षमताले ठूलो मलजल गरेको छ । तर अहिले आएर मन्त्री ज्ञवालीले पनि यो बुझेका छन् । प्रधानमन्त्रीले नै पुल्पुलाएका कारण अहिले कसैले पनि उनका विरुद्धमा बोल्न सकेका छैनन् ।
तर आज साँझपख बामदेवले खोलेको मुखको ठूलो अर्थ छ । यसले एकातर्फ आफूले बामदेव प्रवृत्तिलाई मिलाएँ भन्ने प्रधानमन्त्रीको ढाडसलाई पनि उछालिदिएको छ । अर्कातर्फ बामदेवलाई नदिएर फेरि पनि खतिवडालाई नै दिने काम भयो भने यसको मूल्य पार्टीले र अझ त्यो भन्दा बढी प्रधानमन्त्रीलाई महंगो पर्ने देखिएको छ । खतिवडा पछिल्लो समय नेकपामा खतिवाला प्रवृत्तिका रुपमा देखिएको छ । उनी पनि इश्वर पोखरेलका सम्धीजस्तै सत्तैसत्तामा बस्ने व्यक्तिमा पर्छन् । राजाका पालादेखि आजका पालासम्म । फेरि यी सबै कुरा बाहिर नआएका पनि होइनन्, आएकै हुन् । आए पनि खतिवडाले खाएकै छन् । त्यसैले अहिले त एकजना ओली र उनका सल्लाहकार विष्णु रिमालबाहेक नेकपाका सबैको एउटै प्रश्न छ- के नेकपालमा खतिवडाको विकल्प छैन ?











