६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कहिले निको होला बारेकोटका पहिरो पीडितको घाउ ?

कहिले निको होला बारेकोटका पहिरो पीडितको घाउ ?
अ+ अ-

जाजरकोट । चौतर्फी हिमालको पर्खाल ! तल सम्म परेका साना फाँटहरु र फाँटको किनारमा हिउँ पग्लिएर बगेको नलगाड नदी । साँचिक्कै सुन्दर ठाउँ हो बारेकोट ! पूर्वमा डोल्पा, उत्तरमा जुम्ला र पश्चिममा रुकुम पश्चिम रहेको बारेकोट जैविक विविधता र कैयौँ औषधीय मूल्य भएका जडिवुटीको पनि भण्डार नै हो । 

तर जाजरकोट जिल्लाको बारेकोटको यो परिचय गत असार २५ गतेको पहिरोले पूरै फेरिदिएको छ । प्रकृतिले यसरी सिंगारेको बारेकोटको सुन्दरता प्रकृतिले नै लुटिदिएको छ । यतिखेर हेर्दा लाग्छ बारेकोटको सुन्दर मुहार बाढीले कुरुप बनाइदिएको छ । बाढीले यसरी बढारिदियो कि यहाँको कुनै पनि वडा सग्लो छैन, जताततै घाउखत देखिन्छ । यति राम्रो स्थान बारेकोटका बासिन्दा अहिले भने गहभरि आँसु पारेर बसेका छन् । आफ्नो थातथलोप्रतिको माया उनीहरुले आँशु झारेर प्रकट गरिरहेका छन् । 

पुस्तौँसम्म कमाएको जमिन र आफू बसेको घरबास एकाएक ढलेपछि सबै उमेर समूहका मानिसहरु अग्ला डाडा र जङ्गलमा त्रिपालको सहारामा दुःखका दिन काटिरहेका छन् । बारेकोट गाउँपालिका –५ का जनकबहादुर शाही भन्नुहुन्छ, “ हामीले मनाउने देवी (बाँचिलो) रिसाएर हामीमाथि यतिठूलो बज्रपात भयो कि ? हामीले प्रकृतिमाथी अन्याय गरेका कारण हामीलाई पनि प्रकृतिले नै यो दण्ड दिएको त होइन ?” 

बाह्रवटा कोट मिलेर बारेकोट बनेको यस भूमिको महत्व जिल्लाका अन्य ठाउँकोभन्दा बढी रहेको मानिन्छ । तल्लो भाग अर्थात बेँसीदेखि हिमालसम्म जोडिएको यस ठाउँमा सबै खालको हावापानी पाइने गर्दछ । विश्वमै लोपोन्मुख रेडपाण्डादेखि सुनगिद्ध र चिरकालिजको बासस्थान यही बारेकोटमा पर्दछ । डोल्पा र जुम्ला जान अत्यन्तै छोटो दुरी रहेको बारेकोटलाई पहिरोले छियाछिया बनाउदा अव पूनर्निर्माणको लागि सबै तहका सरकारकोे सहयोगका लागि यस ठाउँले याचना गरेको छ । 

करिब ४१७ मेगावाट जलविद्युत आयोजनाको बाँधस्थल समेत यहीँ रहेको छ । जाजरकोटको पर्यटकीय क्षेत्र सबैभन्दा बढी बारेकोटमै पर्दछन् । त्यही प्रकृतिको माया गर्ने अनि संरक्षण गर्ने सर्वसाधारणहरु भने अहिले प्रकृतिकै रिसाहा व्यवहारले  वर्षाको झरीसँगै खुल्ला आकाशमा त्रिपालको सहारामा बाँच्न बाध्य छन् ।

त्यस पहिरोमा परी १ हजार २०० भन्दा बढी घर भत्किएका छन् । रु १२ करोडभन्दा बढीको धनजनको क्षती भएको छ । तीर्थव्रतको लागि ठाकुरज्यू जाने बाटोदेखि एक गाउँबाट अर्को गाउँ जाने बाटो भत्किँदा धन्नधन्न बाँचेको ज्यान फेरि पनि मरिन्छ कि भनी मन चसक्क गर्दै पानी, घट्ट र भत्किएका घर हेर्न जानुपरेको बारेकोट– ४ का अने सार्कीले बताउनुभयो । 
बढीले एक हजारभन्दा बढी घरपरिवार खानेपानीबाट बञ्चित भएका छन् । अहिले उनीहरु खुल्ला भल पानी पिउन बाध्य भएको अर्का स्थानीय परिमल कार्कीले पीडा पोख्नुभयो । 

भत्किएको घर हेर्दै टोलाउँदै 
असार २५ भन्दा अघि घरमा बसेर रमाएका छोराछोरीहरु अहिले त्रिपालको बासमा विभिन्न किराले टोक्दा रुँदै कराउँदै बाबाआमालाई गुनासो गर्छन् । तर बाबा आमासँग पनि समाधान के नै छ र ?  उनीहरु घर सम्झँदै फेरि छोराछोरीसँगै बरर आँशु झार्छन् । अहिले बारेकोट गाउँपालिकाभित्रका एक हजार २०० भन्दाबढी सर्वसाधारणको खास व्यथा हो यो । अभिभावकहरुले कति दिन बालबालिकालाई भोलि घर जाउँला भनी ढाँट्ने ? लालाबालाहरुका प्रश्नले आफूहरु हैरान भएको तलकोटका भीमबहादुर सिंहले भन्नुभयो । 

सानो त्रिपालमा एक हजार २०० भन्दा बढी घरपरिवार बस्नुपरेको उहाँको पीडा छ । “खाना पकाउने, खाने  र सुत्ने  ठाउँ भन्दा शौचालय धेरै टाढा छैन । जङ्गलमा जथाभावी दिशा गर्दा फोहोर बढेको छ । न गतिलो बास, न त गतिलो खाना । कति दिन चल्ला यसरी ?” अर्का स्थानीय प्रेम सिंहले पीडा सुनाउनुभयो ।“मान्छेको जिन्दगीमा दुःख यसरी पनि आउँदोरहेछ,” उहाँ आँशु थाम्न सक्नुहुन्न । तीन तलाको सबैभन्दा ठूलो घर थियो उहाँको । रमाएर बसेका थिए घर परिवार । तर अहिले त्यो सबै पहिरोसँगै आधाभन्दा बढी त बगिसकेको छ । “अहिले सबै गाउँलेसँग त्रिपालमा छु । घर बनाउदा नखाई, नलगाई काम गरेर घर निर्माण भयो तर दुई वर्ष नवित्दै त्रिपालको बास भयो” उहाँले भन्नुभयो । घर बनाउदा जग कति बलियो छ भन्नेतर्फ ध्यान नदिँदा अहिले बर्बादी भएको उहाँको भनाई छ । बारेकोट यहाँका स्थानीयको भूमि मात्र नभएर यस क्षेत्रका सबै समुदायकै साझा सम्पत्ति भएकाले बारेकोटको पुनर्निर्माणमा सरोकारवाला निकायको ध्यान छिटो जानुपर्ने स्थानीयको माग छ । 

छिटो सडक बनाउ  
पहिरोका कारण थिलथिलो भएको बारेकोटमा आवश्यक खाद्यान्नलगायका अन्य सामग्री ढुवानी गर्न तत्काल सडक निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । हिउँदयाममा बारेकोटको प्रशासकीय केन्द्र लिम्सा पुगेको यातायात सेवा अहिले नलगाड नगरपालिकाको कालीमटी सम्मा थन्किएको छ ।

जाजरकोट सदरमुकामबाट ७२ कोष उत्तरपूर्वमा रहेको बारेकोट लिम्सासम्म सडकमा हलुका सवारी साधन मात्र सञ्चालन भएमा बारेकोटमा परेको समस्या हल गर्न सकिने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । अहिले घोडा, खच्चडमा मात्र मुस्किलले ढुवानी गरिएको र केही सामग्रीले समस्या टार्ने काममात्र भएको उहाँको भनाई छ । ढुवानी गरिएको बस्तुभन्दा झण्डै दोब्बर भाडा तिरेर अत्आवश्यक सामग्री लिनुपरेको वाध्यता शाहले सुनाउनुभयो । 
 
वर्षाको भल पानी पिउँदै पीडित
बाढी र पहिरोले पानीका मुहानसँगै पाइप लाइपलाइन बगाउदा बारेकोटबासीहरु वर्षाको भल भएर बगेको फोहोर पानी पिउन बाध्य भएका छन् । “भलको पानी नखाए के खानु ? पानी ल्याउने माध्यम केही छैन । न त पानी शुद्ध गर्ने केही औषधि पुगेको छ न अर्काे कुनै विकल्प नै छ” बारेकोट गाउँपालिका –५ कालाखोलीका हिमाल विकले बताउनुभयो । “माननीयज्यू आएर तत्काल खानेपानीको व्यवस्था हुन्छ भनेर जानुभएको हो, महिना दिन वितिसक्दा पनि केही व्यवस्थापन हुन सकेको छैन” उहाँले गुनासो गर्नुभयो । “त्रिपालको वास छ, मनभरी पीडा छ । जहाँ हेरेपनि मन बुझाउने ठाउँ भेटिदैन” विकले भन्नुभयो । दुई  हजारभन्दा बढी घरपरिवार शुद्ध पानीबाट बञ्चित भएको स्वास्थ्य तथा सरसरफाई शाखा बारेकोट गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको काम नै प्रभावित
पहिरोबाट एक, गाउँबाट अर्को गाउँमा जानका लागि समस्य भएपछि गाउँपालिकाको सबै काम सुचारु गर्न मुस्किल भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो । मुख्य कुरा सडक नै अवरुद्ध छ, पहिलो  चरणमा पीडितको तथ्याङ्क लिने काम मात्र भएको अधिकृत सिंहले भन्नुभयो । त्यस्तै गाउँपालिकाले खरको छाना हटाउने भनेर गरेको बोलपत्र आह्वानको काम समेत अधुरै रहेको छ । खाद्यान्न, औषधि ढुवानीको काम प्रभावित भएको छ । अहिले विस्थापित परिवारकहाँ समय मिलाएर स्वास्थ्यकर्मी पठाएको सिंहको भनाई छ । पीडितका लागि विभिन्न निकायले गरेको सहयोग सडक निर्माण नभएका कारण सम्वन्धित ठाउँमा पुर्याउन हम्मेहम्मे परेको छ । ठाउँ ठाउँमा खोला, नालाहरु बढेका कारण कामकारबाहीहरु सक्रिय बनाउन मुस्किल परेको छ । 

गर्भवती, सुत्केरी र बालबालिकाको बिचल्ली 
विस्थापित भएर त्रिपालमा बसिरहेका बारेकोट गाँउपालिकाका विभिन्न बस्तीका बासिन्दा चरम खाद्य सङ्कटको चपेटामा परेका छन् । खाद्यन्न नहुँदा सयौँ परिवार भोकभोकै परेका छन् ।
नयाँ बाली पाकेको छैन । गाउँमा किनेर खाने अन्न पाइँदैन । अहिलेसम्म सरकारले राहत दिएको छैन, के आएर बाँच्ने ? यीनै हुन् स्थानीयका गुनासोहरु । बारेकोट – ४ कि पार्वती सार्कीले भन्नुभयो,  “हामी साह्रै समस्यामा छौँ, पहिरोलेभन्दा भोकले मरिएला जस्तो छ ।’’ पहिरोको त्रासले घर छोडेर त्रिपालमा बसेको महिना दिनभन्दा बढी भइसक्यो त्यतिवेला देखि नै पेटभर खान पाइएको छैन, उहाँले पीडा पोख्दै भन्नुभयो  “केटाकेटी भोक लाग्यो भन्छन्, के खुवाउँ ? घरमा खानेकुरा केही छैन ।”

“ठूलो पानी पर्दा अहिले पनि निकै त्रसित हुन्छन् गाउँले गाँउ नै बगाउँछ कि भन्ने डरले । त्रिपालमा बसेकाहरु भन्छन् ‘‘राम्रोसँग नसुतेको र नखाएको तीन हप्ता भइसक्यो ।’’ आफूसँग पैसा पनि छैन । पैसा भएपनि किनेर खाने अन्न पाइदैन” अर्का जनकबहादुर शाहीले समस्या सुनाउँदै भन्नुभयो । राहत पाउला भन्ने आसमा थियौँ तर अहिलेसम्म राहत पाइएन भुमाका कमल चलाउनेले गुनासो सुनाउँदै भन्नुभयो, “हाम्रो पीडा सुनिदिने कोही भएन ।” उहाँ मात्र होइन धेरै विस्थापित परिवार भोकभोकै बस्न बाध्य छन् ।

बारेकोट गाँउपालिकाका अनुसार गत २५ असारमा बारेकोट– ४ सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । बारेकोटका विभिन्न वडामा गएको पहिरोमा परी अझै तीन जना बेपत्ता छन् । बाढी पहिरोका कारण एक हजार ५५ परिवारका छ हजार पाँच सय सात जना विस्थापित भएका छन् । यहाँका ५६ घर भत्किएका छन् । केही विस्थापित परिवार नजिकैको खाली जग्गामा त्रिपाल टाँगेर बसेका छन् भने केही विद्यालयमा आश्रय लिएका छन् ।

वर्षात रोकिएको छैन । विस्थापित सबै परिवार राहतकै पर्खाइमा छन् । केही संस्था र व्यक्तिले दिएको सीमित राहतले ठूलो सङ्ख्यामा विस्थापित परिवारलाई हात्तीको मुखमा जिरा भएको छ ।
पोषणयुक्त खानाको अभावमा त्यस क्षेत्रका सुत्केरी, गर्भवती र बालबालिका निकै जोखिममा रहेका छन् । पोषणयुक्त खानेकुरा खान नपाउँदा उनीहरु कुपोषणको शिकार हुने खतरा रहेको स्वास्थ्यकर्मीको भनाई छ ।

“पेट भर्न त पाएका छैनन् पोषणयुक्त खानाको के कुरा” स्वास्थ्यकर्मी कल्पना रोकायले भन्नुभयो, “घरको बालीनाली बाढीपहिरोले छियाछिया पारेको छ । आयस्रोत छैन । पर्याप्त मात्रमा खानेकुरा पनि छैन । यहाँ न फलफूल पाइन्छ, न तरकारी र दही दूध नै । जसका कारण धेरै बालबालिका, गर्भवती र सुत्केरी महिला कुपोषणको शिकार हुने खतरा बढेको छ ।” रासस
–––