काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल आज समूह ‘ए’ को टोली पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ । खेल नेपाली समयानुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।
पाकिस्तान डिफेन्डिङ च्याम्पियन हो भने सन् २००० मा न्युजिल्यान्डले उपाधि जितेको थियो । पाकिस्तानले प्रतियोगिताको इतिहासमा अहिलेसम्म न्युजिल्याण्डलाई हराउन सकेको छैन ।
अन्तिम पटक दुवै टोली एकदिवसीयमा यही महिनाको १४ तारिखमा आमनेसामने भएका थिए । जसमा न्युजिल्याण्डले त्रिकोणात्मक सिरिजको फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।
हेड टू हेड
च्याम्पियन्स ट्रफीमा पाकिस्तान र न्युजिल्याण्डको टोली ३ पटक भिडेका छन् । न्युजिल्याण्डले तीनवटै खेल जितेको छ । यसमा सन् २००० र २००९ को सेमिफाइनल पनि समावेश छ । दुवै टोली एकदिवसीयमा ११८ पटक आमनेसामने भएका छन् ।
जसमा पाकिस्तानले ६१ र न्युजिल्यान्डले ५३ खेल जितेका छन् । जबकि ३ खेलको नतिजा घोषणा हुन सकेको छैन भने एक खेल बराबरी भएको छ ।
न्यूजिल्याण्डका तिब्र गतिका बलर लोकी फर्गुसन खुट्टाको मांसपेशीमा तनावका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् । उनको स्थानमा काइल जेमिसनलाई मौका दिइएको छ ।
टोलिका फर्ममा रहेका खेलाडी
न्यूजिल्याण्डका पूर्व कप्तान केन विलियम्सन यस वर्ष एकदिवसीय क्रिकेटमा टिमका सर्वाधिक स्कोरर बनेका छन् । उनले ३ खेलमा २२५ रन बनाएका छन् । दोस्रो नम्बरमा डेरिल मिचेल छन् । उनले ६ खेलमा १८८ रन बनाएका छन् । बलिङमा फास्ट बलर म्याट हेनरी शीर्ष स्थानमा छन् । उनले यो वर्ष ५ खेलमा १४ विकेट लिएका छन् ।
पाकिस्तानका लागि यो वर्ष अलराउन्डर सलमान आगाले सर्वाधिक रन बनाएका छन् । उनले ३ खेलमा २१९ रन बनाएका छन् । यो खेलमा पनि टिमले उनीबाट अपेक्षा राख्नेछ । यस्तै, फास्ट बलर शाहिन शाह अफ्रिदी सर्वाधिक विकेट लिने खेलाडी हुन् । शाहिनले ३ खेलमा ६ विकेट लिएका छन् ।
कस्तो छ मैदान ?
कराँचीको नेशनल स्टेडियमको पिच ब्याटिङमैत्री छ । यो मैदानमा हाई स्कोरिङ खेलहरू सधैं देखिन्छन् । बलरहरूका लागि यहाँ खासै सहयोग मिल्दैन । खेल अगाडि बढ्दै जाँदा शीतले ठूलो प्रभाव पार्नेछ । यस्तो अवस्थामा टस जित्ने टोलीले पहिले फिल्डिङ गर्ने निर्णय लिन सक्छ ।
यहाँ अहिलेसम्म ५६ ओडीआई खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले २६ खेल जितेको छ भने दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले २८ खेल जितेको थियो । यहाँ उच्चतम स्कोर ३५५ रन रहेको छ जुन पाकिस्तानले यसै महिना दक्षिण अफ्रिका विरुद्ध बनाएको थियो ।
दुबै टोलीको सम्भावित प्लेइङ–११
पाकिस्तानः मोहम्मद रिजवान (कप्तान), बाबर आजम, फखर जमान, साउद शकील, सलमान आगा, तय्यब ताहिर, खुशदिल शाह, फहीम अशरफ, शाहीन शाह अफ्रिदी, नसीम शाह र अबरार अहमद ।
न्युजिल्याण्डः मिचेल सान्टनर (कप्तान), विल यंग, डेभन कोनवे, केन विलियम्सन, डेरिल मिचेल, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, नाथन स्मिथ, जेकब डफी र विलियम ओरुर्के ।










