काठमाडौँ । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति भएको प्लेअफको दोस्रो लेगमा स्कटिस क्लब सेल्टिकसँग १–१ गोलको बराबरी खेलेपनि समग्रमा ३–२ को नतिजाले बायर्न अन्तिम १६ मा पुगेको हो ।
घरेलु टोलि बायर्नले पुनरागमन जित निकाल्यो । खेलको ६३ औं मिनेटमा निकोलस जेरिट कुह्नले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए । यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा अल्फोन्सो डेभिसले गोल गर्दै बायर्नको उद्दार गरे ।
यस्तै, गएराति नै भएको अर्को खेलमा इटालियन क्लब एसी मिलान घरेलु मैदानमा डच क्लब फेयनुर्डसँग १–१ को बराबरीमा रोकियो । खेलको पहिलो मिनेटमा नै सान्टियागो जिमिनेजले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ७३ औं मिनेटमा युलियन कारान्जाले गोल गर्दै फेयनुर्डलाई बराबरीमा ल्याए । खेलको ५१ औं मिनेटमा थिओ हर्नान्डेजले रातो कार्ड खाएपछि मिलान १० खेलाडीमा समेटिएको थियो ।
यो नतिजासँगै मिलान च्याम्पियन्स लिगबाट बाहिरियो भने फेयनुर्ड अन्तिम १६ मा प्रवेश गर्यो । समग्रमा फेयनुर्ड २–१ ले विजयी बनेको हो ।










