काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत शीर्ष दुईका दुबै क्लब बराबरीमा रोकिएका छन् । गएराति भएको खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाँडेका हुन् ।
रियल मड्रिड ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिँदा अर्को मड्रिड क्लब एट्लेटिकोले घरेलु मैदानमा सेल्टा भिगोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो ।
ओसासुनाको घरेलु मैदानमा अग्रता भने रियलले लिएको थियो । खेलको १५ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा रियल १० खेलाडीमा समेटियो । जुड बेलिङहम रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
५८ औं मिनेटमा आन्टे बुदिमिरले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए । त्यसपछि गोल हुन सकेन र दुबैले अंक बाँडे ।
यस्तै, एट्लेटिकोले घरेलु मैदानमा अंक बाड्यो । खेलको सातौं मिनेटमा नै पाब्लो बारिओसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।
६८ औं मिनेटमा लागो आसपासले पेनाल्टीमा गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाए । ८१ औं मिनेटमा अलेक्जान्डर सोरीओठले गोल गर्दै एट्लेटिकोको हार टारे ।
यो नतिजासँगै रियल २४ खेलबाट ५१ अंकका साथ शीर्षस्थानमा छ । एट्लेटिको ५० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ४८ अंकका साथ तेस्रो स्थानमा छ ।










