९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

तीनै तहका जनप्रतिनिधिहरू पाथीभरामा केबलकार बन्नुपर्छ भन्ने पक्षमा छन्ः योगेश भट्टराई

तीनै तहका जनप्रतिनिधिहरू पाथीभरामा केबलकार बन्नुपर्छ भन्ने पक्षमा छन्ः योगेश भट्टराई
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव एवं ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले  तीनै तहका जनप्रतिनिधिहरू पाथीभरामा केबलकार बन्नु पर्छ भन्ने पक्षले ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू पाथीभरामा केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका बताउनुभएको छ ।

सो केबलकार निर्माणको विषयमा विवाद चर्किएको बेला भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्दै केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । सो घटनमा घाइतेको राम्रो उपचार व्यवस्थाको भट्टराईले माग गर्नुभएको छ ।

ताप्लेजुङ जिल्लाको आर्थिक समृद्धिको आधार जलश्रोत, पर्यटन र कृषि भएको उल्लेख गर्दै भट्टराईले तुलनात्मक रूपमा छिटो प्रतिफल दिने क्षेत्र पर्यटन नै भएको स्पष्ट पार्नुभएको छ । ‘ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ, त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर ताप्लेजुङवासीहरूको आर्थिक रूपान्तरणमा उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङवासीहरूको साझा धारणा रहेको छ’, भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्दै लेख्नु भएको छ ।

भौगोलिक रूपले विकट ठाउँमा रहेको पाथीभरासम्म वृद्ध–वृद्धा, बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केबुलकार उपयुक्त विकल्प हुनेमा दुईमत नरहेको भट्टराईले स्पष्ट पार्नुभएको छ । ‘केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाखसम्म तिर्थालु र पर्यटकहरू पाथीभरामा पुग्ने अनुमान गरिएको छ, जसबाट ताप्लेजुङवासीको रोजगारी, आर्थिक उपार्जन,स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ’, भट्टराईले आफ्नो धारण प्रष्ट राख्नु भएको छ ।

निर्माण कम्पनीले प्रस्तुत गरेको र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका आधारमा हेर्दा केबलकार सञ्चालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने नदेखिएको भट्टराईले स्पष्ट पार्नुभएको छ । ‘पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ, पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेसन निर्माण हुने देखिन्छ, पाथीभराको टुप्पोमा कुनै होटेल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन, रुख तथा पोल गरेर २१ सय १२ कटान हुनेछ , बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता छैन’, भट्टराईको स्पष्ट धारणा छ ।

पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्बाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जगेर्ना र सम्बन्धनका लागि मुकुम्लुङ पार्क तथा सङ्ग्रहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरू अघि बढाउन उहाँले माग गर्नुभएको छ । भट्टराईले । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने उल्लेख गर्दै यसका लागि  आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गदै भट्टराईले अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्नुभएको छ ।

भट्टराईले केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु पर्ने, प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको  व्यवस्था गर्नु पर्ने, रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने, केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनु पर्ने, स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने माग राख्नु भएको छ ।

योगेश भट्टराईको १९ बुँदे प्रस्तााव

१) संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको हो ।

२) ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन् ।

३) केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना घट्न पुग्यो ।

४) पाथीभरा नेपालको  प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रूपले सुन्दर पर्यटकीय स्थल हो।

५) जहाँ बर्सेनि नेपालका विभिन्न भाग ,भारतका सिक्किम,दार्जिलिङ,असाम, पश्चिम बङ्गाल,उत्तर प्रदेश,विहार लगायतका क्षेत्रबाट ठुलो मात्रामा श्रद्धालु दशनार्थी आउने गरेका छन् ।

६) पाथीभरा क्षेत्र विकास समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्ष करिब ३ लाख तिर्थालु र पर्यटकहरूले पाथीभरा भ्रमण गरेका थिए भने बर्सेनि यो सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको छ ।

७) पाथीभरालाई शक्तिको प्रतीक देवीको रूपमा बुझिन्छ खस,आर्य लिम्बु राई ९किराँत० गुरुङ,तामाङ शेर्पा,मगर,नेवार,लगायतका सबै जात र  विशेष गरी हिन्दु बौद्ध, र किराँत धर्मालम्बीहरुले समान रूपले आस्था र विश्वास दर्साउने साझा स्थल हो पाथीभरा ।

८) ताप्लेजुङ जिल्लाका आर्थिक समृद्धिको आधार,जलश्रोत,पर्यटन र कृषि हो । तुलनात्मक रूपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो । ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ । त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर ताप्लेजुङवासीहरूको आर्थिक रूपान्तरणमा उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङवासीहरूको साझा धारणा रहेको छ ।

९) भौगोलिक रूपले विकट ठाउँमा रहेको पाथीभरासम्म सहज ढङ्गले पुग्न सकियोस् वृद्ध–वृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केबलकार उपयुक्त विकल्प हुनेमा दुईमत छैन ।

१०) केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाखसम्म तिर्थालु र पर्यटकहरू पाथीभरामा पुग्ने अनुमान गरिएको छ । यसबाट ताप्लेजुङवासीको रोजगारी, आर्थिक उपार्जन,स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ ।

११) निर्माण कम्पनीले प्रस्तुत गरेको र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिविदेशका आधारमा हेर्दा केबलकार सञ्चालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिँदैन । पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ । पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेसन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटेल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन । रुख तथा पोल गरेर २१ सय १२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता छैन ।

१२) ताप्लेजुङमा निर्माण हुने केबलकार वा जल विद्युत् आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोबास गर्ने महानुभावहरू तथा विदेशमा रहुन् भएका नेपाली दिदीबहिनी तथा दाजुभाइले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौ । र धन्यवाद व्यक्त गर्दै ताप्लेजुङवासीहरूको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सबैमा निवेदन गर्दछु ।

१३) २०८१ माघ १२ गतेको घटना प्रति दुख व्यक्त गर्दछु । त्यस क्रममा घाइते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जवानहरू तथा नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै घाइतेहरूको प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछु ।

१४) पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्बाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जगेर्ना र संवर्द्धनका लागि मुकुम्लुङ पार्क तथा सङ्ग्रहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरू अघि बढाउन माग गर्दछु ।

१५) लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित गर्दैन ।यसका लागि  आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।

१६) केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष,राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष  परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षीय समिति निर्माण गर्न उपयुक्त हुनेछ । साथै केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारबाहीलाई सहभागितामूलक तथा पारदर्शी ढङ्गले अघि बढाउनु पर्दछ ।

१७) केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि नि:शुल्क सेवा दिने घोषणा गर्नु पर्दछ । प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको  व्यवस्था गर्नु पर्दछ । रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ । केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनु पर्दछ स्थानीय शिक्षा,स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ ।

१८) पाथीभरा केबलकार निर्माण सम्बन्धमा उत्पन्न समस्यालाई हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मुख्यमन्त्रीले लिनु भएको तत्परता प्रति धन्यवाद व्यक्त गर्दछु । कोसी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछु ।

१९) ताप्लेजुङको समग्र विकासमा एकताबद्ध रूपले अघि बढ्न सबै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु । सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यताका लागि सम्बद्ध सवैमा अपिल गर्दछु ।