१७ पुष २०८१, बुधबार
,
Latest
काठमाडौं र तराईमा बिहान हुस्सु, दिउँसो देशभर मौसम सफा रहने पन्चैबाजा संरक्षणमा आमा समूह आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै नयाँ सोच र उमंगका साथ अंग्रेजी नयाँ वर्ष २०२५ सुरु पौष १६ गतेः मैले बुझेको राष्ट्रिय मेलमिलाप रास्वपाका नेताहरु भारतीय दूतावासमा, पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली नयाँ वर्षको स्वागतमा झुम्यो काठमाडौं, पर्यटकीय क्षेत्र झिलिमिली न्यूजील्यान्ड, अस्ट्रेलियामा नयाँ वर्षको स्वागतमा आतिशबाजी भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह ‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा फस्टाउँदै सिद्रा व्यापार



अ+ अ-

धरान, (सुनसरी) । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उहाँको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

“सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ”, उहाँले भन्नुभयो । शाहीले सिद्रा व्यापार गर्न थाल्नुभएको २० वर्ष भयो । सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । सिद्राप्रति किलो रु छ सयदेखि रु एक हजार दुई सयसम्ममा बिक्री गर्नुहुन्छ । उहाँले भन्नुभयो, “मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु । महिनामा सबै खर्च कटाएर रु ४० हजारसम्म बचत हुन्छ ।”

धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारी छन् । सिद्राको पारखीहरु टाढाटाढा बाट यहाँ सिद्रा किन्न आउँछन् । शाहीले झै विगत ३३ वर्षदेखि सिद्राको व्यापार गर्दै आउनुभएका धरान उपमहानगरपालिका–३ का प्रेम श्रेष्ठ पनि जाडो यामसँगै बर्सेनि  सिद्रा व्यापार फस्टाउने बताउनुहुन्छ । उहाँका अनुसार कात्तिकको पहिलो सातादेखि फागुनसम्म सिद्राको बढी व्यापार हुन्छ ।

उहाँले हाल १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्दै आउनुभएको छ । पटासी, चेला, वामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा प्रजातिका सिद्रा बिक्री गर्दै आएको उहाँले सुनाउनुभयो । धेरैजसो तरकारी र अचार बनाएर खाने सिद्रा बिक्री हुने उहाँले बताउनुभयो । यही व्यापारबाट उहाँले घरखर्च र छोरा छोरीको स्कुल ‘फि’ बुझाउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा प्रशस्त खोलानाला भए पर्याप्त सिद्रा उत्पादन नहुने भएकाले भारतबाट ल्याएर बेच्नुपर्छ । मैले वर्षमा २० क्वीन्टल बढी सिद्रा बिक्री गर्ने गर्छु ।” धेरै जसो पहाडी जिल्लाहरुमा सिद्रा खपत हुने गरेको उहाँको भनाइ छ ।

सिद्रा मौसमअनुसार नेपालमा साउनदेखि असोज महिनासम्म उत्पादन हुने गर्छ । सो अवधिमा उहाँले नेपालमै खरिद गरेर बिक्री गर्ने गरेको बताउनुभयो । नेपालमा सिद्रा उत्पादन हुने याम सकिएपछि भारतबाट ल्याएर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । सिद्रा धरानका होटलहरुमा अचारका लागि खपत हुने गर्छ । आफन्तलाई कोसेलीका रुपमा पनि ग्राहकहरुले सिद्रा खरिद गरेर लैजाने उहाँले बताउनुभयो ।

जाडो याममा सिद्राको झोल बनाएर खाने चलन रहेको व्यापारीहरु बताउँछन् । धरानमा शाही र श्रेष्ठ जस्ता सिद्राकोे व्यापार गर्ने व्यापारीको सङ्ख्या एक दर्जनभन्दा बढी छन् । पछिल्लो समय सिद्रा व्यापार गर्ने अधिकांश महिला छन् । रासस