काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलले बराबरी खेलेको छ । गएराति भएको खेलमा लिभरपुल फुलहमसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ११ औं मिनेटमा एन्ड्रीस पेरेइराको गोलबाट पाहुना टोलि फुलहमले खेलमा सुरुवाती अग्रता बनाएको थियो । खेलको १७ औैं मिनेटमा एन्ड्रीउ रोबर्टसनले रातो कार्ड खाएपछि लिभरपुल १० खेलाडिमा समेटिएको थियो ।
४७ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । ७६ औं मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै फुलहमलाई २–१ ले अघि बढाए ।
८६ औं मिनेटमा डिओगो जोटाले गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याएर टोलिको हार टारे । लिभरपुल १५ खेलबाट ३६ अंकका साथ शीर्षस्थानमा यथावत छ । फुलहम १६ खेलबाट २४ अंकका साथ नवौं स्थानमा छ ।
यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । आर्सनलको यो लगातार दोस्रो बराबरी हो । टोलि १६ खेलबाट ३० अंकका साथ तेस्रो स्थानमा छ । एभर्टन १५ खेलबाट १५ अंकका साथ १५ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई ४–० गोलले हरायो । घरेलु टोलिलाई सहज जित दिलाउन जाकोव मुर्फीले दुई तथा ब्रुनो गुइमारेज र एलेक्जान्डर इसाकले एक–एक गोल गरे ।

न्युक्यासल १६ खेलबाट २३ अंकका साथ ११ औं स्थानमा छ भने लेस्टर १४ अंकका साथ १६ औं स्थानमा छ ।









