६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर भएको छ । नागरिकता, राहदानी केरमेट गरी झालझेल गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।

नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा २०८० साल साउन १६ गतेबाट ६६ औँ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।

पछिल्लो नौ महिनादेखि पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकाले कानुनबमोजिम कारवाही हुन भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२।११।२४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको, जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६।०१।१७ गते जारी नागरिकतामा जन्म मिति २०१६।०७।२२ उल्लेख भएको, त्रिभुवन विश्वविद्यालयवाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५।०४।१५ उल्लेख भएको, स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण(सिटरोल. मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५।०४।१५ उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३।०४।०१ गते तृतीय श्रेणीको पदमा नियुक्ति लिएको, सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी, मिति २०७३।०४।१५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएकोवाट निज प्रतिवादीले मिति २०१५।०४।१५ लाई नै जन्म मिति कायमरस्वीकार गरेरगराएको भेटिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सिलवालले आफ्नो वास्तविक जन्ममिति भन्दा करिब ३ वर्ष उमेर घटाएर उक्त राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी, प्राप्त गरी गराइ राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरेको देखिएको छ ।