६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पुर्ख्यौली पेसाप्रति जलारी युवाको घट्दो रुचि

पुर्ख्यौली पेसाप्रति जलारी युवाको घट्दो रुचि
अ+ अ-

पोखरा । फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्यौली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो । तर, अहिलेका जलारी युवाहरूको रुचि भने पुर्ख्यौली पेसाभन्दा वैकल्पिक पेसा एवं रोजगारीतर्फ आकर्षित हुन थालेको छ । जलारी पोखराको फेवाताल आसपास बसोबास गर्दै आएको परम्परागत माछा मार्ने समुदाय हो । उनीहरूले आफ्नो मुख्य पुर्ख्यौली पेसा माछा मारेर र बेचेर जीविकोपार्जन गर्दै आइरहे पनि माछा उत्पादनमा आएको कमी, बजार व्यवस्थापनमा चुनौती र आधुनिक जीवनशैलीप्रतिको आकर्षणले यो समुदायको युवाले पुख्यौली पेसाप्रति कम रुचि देखाउन थालेका हुन् ।

जलारी मत्स्य सहकारी सङ्घका अध्यक्ष ज्ञानबहादुर जलारीले परिवर्तित समयसँगै जलारी युवा पनि अन्य क्षेत्रतर्फ आकर्षित हुँदै गएको बताउनुभयो, “अहिलेका युवाहरु पढेलेखेको र यो बाहेकका पेसामा पनि आफ्नो भविष्य देख्न थालेपछि उनीहरुको पुर्ख्यौली पेसामा सीमित हुन चाहेका छैनन्, अर्कोतर्फ तालमा माछा उत्पादन घट्लै जान थालेपछि जीविकोपार्जनमा पनि समस्या हुन थाल्यो ।” आफ्नो परम्परा र पुर्ख्यौली पेसामा नै आफ्नो समुदायका लागे हुन्थ्यो भन्ने लागे पनि पुस्ता हस्तान्तरण गरेर यसमा टिकाउन त्यति सहज नभएको उहाँको भनाइ छ । “आजका युवाहरूमा पुर्ख्यौली पेसाप्रति एक प्रकारको उदासिनता छ । तालको वातावरणीय सङ्कट र पेसाबाट आउने आर्थिक समस्याका कारण उनीहरूले पुर्ख्यौली पेसामा रुचि देखाउन छाडेका छन्”, ज्ञानबहादुरले भन्नुभयो ।

जलारी समुदायलाई पेसामा टिकाइराख्नको लागि राज्यस्तरबाटै व्यावसायिक प्रविधिको प्रयोग, ताल संरक्षण र सहकारीले माछा उत्पादनमा लगानी गर्नसक्ने दीर्घकालीन योजना आवश्यक रहेको उहाँको भनाइ छ । “युवा पुस्तालाई ताल र समुदायसँग जोड्न तालको दिगो व्यवस्थापन र आर्थिक रूपमा लाभप्रद बनाउनेतर्फ ध्यान दिन सकिएमा मात्र यो पेसा दिगो रूपमा बचाउन सकिन्छ”, उहाँले भन्नुभयो । फेवाताल किनारमै जन्मेहुर्केर बाबुबाजेसँगै माछा मार्ने पेसालाई नजिकबाट नियालिरहनु भएका २० वर्षीय राजीव जलारी अहिले वैदेशिक रोजगारीको तयारीमा हुनुहुन्छ । “मेरै बुबा–हजुरबुबाको पुर्ख्यौली पेसा भए पनि म यसमा राम्रो भविष्य देख्दिन, यो हाम्रो पुर्ख्यौली पेसा हो, माछा मारेर हाम्रो परिवारले पुस्तौँदेखि जीविकोपार्जन ग¥यो तर अहिले म यसमा भविष्य नदेखेर विदेश जाने तयारीमा छु ।” राजीव भन्नुहुन्छ “माछा घट्दै गएको छ, ताल प्रदूषित छ, अनि तालमै निर्भर हाम्रो समुदाय आर्थिक रुपमा सक्षम हुन सकेको छैन, पेसालाई निरन्तरता मात्र दिने कि सुरक्षित भविष्य पनि हेर्ने रु” उहाँ प्रश्न गर्नुहुन्छ ।

उहाँ थप्नुहुन्छ, “हामी जस्तै धेरै जलारी युवा वैकल्पिक पेसा खोज्दैछौँ, यदि तालको संरक्षण, माछा उत्पादनमा वृद्धि र आधुनिक प्रविधिसँग युवालाई जोड्ने हो भने सायद हामीले पनि यो पेसा गर्वका साथ अगाल्न सक्थ्याँैं तर अहिलेलाई यो पेसा जारी राख्न सक्ने आधार गुम्दै छन् । गुजारा टार्ने काम मात्र भएको छ । यही परिस्थितिले गर्दा मैले विकल्प खोज्न थालेको हुँ ।” हर्पन फेवा मत्स्य सहकारी संस्थाका पूर्वअध्यक्ष एवं साइनो किचनका सञ्चालक शैलेन्द्र जलारीले आफ्नो समुदायको परम्परागत पेसालाई निरन्तरता दिन खोजे पनि आउने पुस्ताले रुचि देखाउन छाडेको बताउनुभयो, “पुर्ख्यौली पेसाप्रति हाम्रो अगाध प्रेम र लगाव छ तर तालको संरक्षण र माछा उत्पादन बढाउन ठोस् कदम नहुँदा वैकल्पिक पेसातर्फ युवाको आकर्षण बढ्न थालेको छ ।” उहाँले समुदायको पेसालाई जोगाउन सरकारी तथा गैरसरकारी निकायबाट ताल संरक्षण र माछा उत्पादनको दीर्घकालीन योजना बनाइनुपर्नेमा जोड दिनुभयो ।

माछा उत्पादन बढाउन पोखरा महानगरपालिका र अन्य केही संस्थाले प्रयास गरे पनि ती प्रयास प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ । “तालमा माछाका भुरा छोड्न केही प्रयास भए पनि समुदायले व्यावसायिक रूपमा माछा उत्पादनको विकास गर्न पर्याप्त स्रोत र सीप पाएका छैनन् । यो पेसा दिगो रहनका लागि व्यावसायिक उत्पादन, तालको उचित संरक्षण, र प्रविधिगत सुधार आवश्यक हुन्छ ।” उहाँले जलारी समुदायको परम्परागत पेसा जोगाउन जैविक विविधता, आर्थिक स्थायित्व र ताल संरक्षणका लागि दीर्घकालीन समाधान रणनीति आवश्यक रहेको बताउनुभयो ।फेवातालमा परम्परागत माछा मार्ने पेसा कठिनाइसँग जुधिरहेको बताउनुहुन्छ स्थानीय राजु जलारी । “मैले छ÷सात वर्षदेखि माछा मार्न छोडेको छु । अहिले माछा खरिद गरेर विक्रीवितरण गर्दैछु तर तालमा माछा उत्पादन घट्दा यो व्यवसाय गर्न पनि अझै गाहे हुँदै गएको छ ।” उहाँका अनुसार कुनै समय दिनमै एकसय ५० किलो माछा मारेको अनुभव छ तर अहिले मुस्किलले एक÷दुई किलो मार्न पनि समस्या छ ।

“माछा उत्पादन घट्न थालेको छ, माछाका भुरा बगाउने समस्या पनि उस्तै छ । तालछेउमा बसेर तराईबाट माछा ल्याएर बेच्नुपर्ने अवस्था आउनु भनेको दुःखद् हो, हाम्रो समुदायको भविष्य नै अन्योल छ ।” उहाँले आफ्नो बीस वर्षीय छोराले पनि पुख्यौली पेसामा भविष्य नदेखेपछि विदेश जान तयारीमा रहेको बताउनुभयो । “आर्थिक रूपमा सुरक्षित भविष्य नदेखेपछि नयाँ पुस्ताले वैकल्पिक पेसा रोज्न थालेका छन्, योसँगै जलारी समुदायको परम्परागत पहिचान हराउने खतरा पनि बढेको छ । ”आफ्नो पुर्ख्यौली पेसालाई आत्मसम्मानका साथ निरन्तरता दिन चाहे पनि पछिल्लो समय धेरै चुनौती थपिएको उहाँको भनाइ छ । नयाँ प्रविधि र व्यावसायिक दृष्टिकोणबाट माछापालनलाई मजबुत बनाउन सकेमा जलारी समुदायको परम्परागत पेशा बच्ने र आत्मसम्मानका साथ नयाँ पुस्ताले अँगाल्ने बताउनुभयो । प्राकृतिक रूपमा माछा उत्पादन गर्ने क्षमतामा आएको कमी, वातावरणीय असन्तुलन, प्रदूषण यसका प्रमुख कारण हुन् । यसले गर्दा माछा मार्ने पेसाबाट निरन्तरता नपाइने भएकाले नयाँ पुस्ताका लागि यो पेसा आकर्षक नरहेको उहाँको बुझाइ छ ।

मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक डा मोहम्मद अकबाल हुसेनले जलारी समुदायका युवाको अन्य पेसा व्यवसायप्रति रुचि बढ्नु स्वभाविक भए पनि परम्परागत माछापालनलाई आधुनिक र व्यावसायिक बनाउन सकेमा युवाहरू पुनःयस पेसातर्फ आकर्षित गराउन सकिने बताउनुहुन्छ, “जलारी समुदायको हितका लागि आधुनिक सीप र प्रविधि आवश्यक छ, परम्परा र आधुनिकतालाई समन्वय गरेर आर्थिक सशक्तीकरणसँगै दिगोपना खोज्न नयाँ पुस्तालाई परम्परागत पेशाप्रति सकारात्मक दृष्टिकोण बनाउनुपर्छ ।”

उहाँले पोखरा तालैतालको सहर भएकाले माछापालनबाटै आर्थिक निर्भर हुनसक्ने प्रशस्त आधार रहेको जनाउँदै जलारी समुदायको पुर्ख्यौली ज्ञान र सीपलाई नयाँ पुस्तामा जोड्न सके सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार अहिले पोखराका फेवाताल, बेगनाताल र रुपातालबाट वार्षिक एक सय २० मेट्रिक टन माछा उत्पादन हुन्छ तर बजारको माग तीन सय मेट्रिक टनभन्दा बढी छ । जलारी समुदायको संरक्षणका लागि केन्द्रले माछाका भुरा छोड्ने र माछा पालनसम्बन्धी आवश्यक सरसल्लाहहरु साथै तालिम पनि प्रदान गर्दै आएको छ । उहाँले पछिल्लो समय स्वास्थ्यका दृष्टिले पनि माछा राम्रो मानिएकाले स्थानीय तालको माछाप्रति ग्राहकको रुचि बढेसँगै माग पनि बढेको बताउनुभयो । फेवातालको सौन्दर्य र जैविक विविधतासँगै जलारी समुदायको माछा मार्ने पेशा तालको सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिए पनि यो पेशामा नयाँ युवाको रुचि कम देखिएको बताउनुहुन्छ पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं पर्यटन व्यवसायी हरि भुजेल । उहाँ जलारी समुदायको दीर्घकालीन सुदृढीकरणका लागि ताल संरक्षण, माछा उत्पादनमा वृद्धि, र युवा पुस्तालाई आकर्षित गर्ने नयाँ रणनीति आवश्यक रहेको बताउनुहुन्छ ।

पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले जलारी समुदायको पुख्यौली पेसा संरक्षण र उनीहरुको जीवनस्तर उकास्न महानगर तयार रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “जलारी समुदायका युवा पुस्ताको रुचि बढाउन र आवश्यक सीपका लागि तालिमको आवश्यकता समुदायले गरेमा महानगर साझेदारी गर्न तयार छ ।” युवा पुस्तालाई तालसँग जोड्न माछा उत्पादन बढाउन, ताल संरक्षणमा ध्यान दिन र आधुनिक तरिकाबाट आर्थिक रूपमा लाभप्रद बनाउने उपायहरूको खोजी नै उत्तम विकल्प हुनसक्ने उहाँको भनाइ छ । अहिले फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आउने करिब एक सय घरधुरी जलारी छन् । पोखरा महानगरले जलारी समुदायलाई माछा मार्न अनुमतिपत्र प्रदान गरेको छ । तोकिएको स्थानमा जलारी समुदायले माछा मार्दै आएका छन् ।