२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी



अ+ अ-

कञ्चनपुर । बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गर्नुभएको छ । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गर्नुभएको छ । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताउनुभयो । काँक्रा प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री हुँदै आएको छ ।

काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ । “स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्”, चौधरीले भन्नुभयो, “व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पु¥याएर बिक्री गरिँदै आएको छ ।” अझै बारीमा रु एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

गत वर्ष उहाँले दुई रु लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गर्नुभएको थियो । पिपलाडी गाउँमा व्यावसायिक तरकारीखेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहनुभएको छ । बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताउनुहुन्छ ।

भारतीय तरकारीखेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारीखेती गर्ने तौरतरिका सिकेको बताउनुभयो । काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्नुहुन्छ ।

काँक्राखेतीबाट रु तीन लाख र अन्य तरकारीखेती गरी वर्षमा उहाँले रु सात लाखदेखि रु १० लाखसम्मको आम्दानी गर्दै आउनुभएको छ । तरकारीखेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौँमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आउनुभएको छ । उहाँले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आउनुभएको छ ।

“तरकारीखेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ”, चौधरीले भन्नुभयो, “बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।” पिपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ । चौधरीले एक दशकअघिदेखि तरकारीखेतीमा संलग्न रहँदै आउनुभएको छ । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गर्नुभयो । रासस




भर्खरै