काठमाडौं । साझा पार्टीका नेता रविन्द्र मिश्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रश्नै प्रश्न तेर्साएका छन् । हालैमात्र भारतीय गुप्तर संस्थाका प्रमुखको नेपाल भ्रमणका विषयमा उनले प्रश्न गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज बिहान कान्तिपुर एफएमको एक अन्तर्वार्तामा गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेपाल आएको बताएका थिए । सोही विषयमा रविन्द्र मिश्रले उनीसँग फेसबुकमा प्रश्न गरेका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा राखेका प्रश्नहरु यस्ता छन्-
भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन्: परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आज विहान कान्तिपुर हेडलाइनर्समा।
१. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको ?
२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ?
३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?
४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन् ?
५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएनरु परराष्ट्र मन्त्रालयसँग सम्मनवय भयो कि भएन ?
६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले “हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन” किन भनेकोरु अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन ?
७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए ?
८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन् ?
ढाकछोपको पनि सीमा हुन्छ। यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो। सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको गम्भिर आरोपमा छानविन हुन सक्थ्यो। तर विडम्वनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ।











