२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किए

अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किए
अ अ+ अ-

काठमाडौं/सिन्धुपाल्चोक/त्रिशूली । नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किएका छन्। नेपाल–चीन नाका तातोपानी र रसुवागढीबाट दैनिक ६ देखि ८ कन्टेनर सामान मात्रै आयात भइरहेको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार कोभिड–१९ का कारण पछिल्लो नौ महिनादेखि करिब १७ अर्बको गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्सका सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत अड्केको हो। चीनले तातोपानी र रसुवागढी नाकाबाट मालसामान ल्याउने बाटो फुकाए पनि पर्याप्त परिमाणमा भने निर्यात गर्न दिएको छैन। ती दुवै नाकाबाट अत्यन्तै थोरै परिमाणमा मालसामानसहितको कन्टेनर आउँदा व्यापारी लगानी डुब्ने चिन्तामा परेका छन् । संघका अध्यक्ष बच्चु पौडेलका अनुसार विगतमा नेपाली व्यवसायीको कन्टेनर तातोपानी हुँदै चीनको खासासम्म सोझै जान पाउँथ्यो। खासामा सामान लोड गरी १५ दिनमा काठमाडौं ल्याइपुर्‍याउँथे। दैनिक रूपमा उक्त नाकामार्फत ५० देखि १ सय कन्टेनरसम्म सामान आउँथ्यो। रसुवातर्फ केरुङ (चीनतर्फको भूभाग)सम्म नेपाली कन्टेनर जान पाउँथ्यो। ‘तर, पछिल्लो समय कोभिडको समस्या देखाएर केरुङ र खासासम्म नेपाली कन्टेनरलाई जान दिइएको छैन’, अध्यक्ष पौडेलले भने।

पौडेलका अनुसार चिनियाँ पक्षले कोभिड–१९ को समस्या सिर्जना भएपछि नेपाली कन्टेनरलाई तातोपानी र रसुवातर्फको मितेरी पुलसम्म मात्रै जान अनुमति दिएको छ। मितेरी पुलसम्म चिनियाँ पक्षले आफ्ना कन्टेनरमा नेपाली व्यवसायीले मगाएको सामान ल्याइदिन्छन्। त्यहाँबाट नेपाली व्यवसायीले आफ्ना ट्रक र कन्टेनरमा लोड गरी भित्र्याउँदै आएका छन्।नेपाली व्यवसायीले ती दुवै नाकाको मितेरी पुलसम्म दैनिक ५० देखि १ सय कन्टेनरसम्म आउनुपर्ने माग गर्दै आएका छन्। ‘हामी अहिले पनि कोभिड १९ को स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पालना गरेका छौं’, पौडेलले भने, ‘हामीलाई मितेरी पुलमै सामान झारिदिए पनि हुन्छ। तर, कम्तीमा दैनिक ५० देखि १ सय कन्टेनरसम्म झारिदिनुपर्‍यो।’ कनिका छरेजस्तो दैनिक ४–५ कन्टेनर झारेका कारण आर्थिक मारमा परेको पौडेलको भनाइ छ।

नौ महिनादेखि आउन नसकेको करिब १७ सय कन्टेनरको सामान कुन अवस्थामा छ भन्ने सोचेर मानसिक र आर्थिक पीडा थपिएको आयातकर्ता व्यापारीको भनाइ छ। पौडेलका अनुसार यो विषयमा परराष्ट्रसचिबसँग पटक–पटक छलफल भएको छ। परराष्ट्रसचिव तातोपानी नाकासमेत घुमेर आए तर हालसम्म कूटनीतिक रुपमा समस्याको कुनै समाधान भएको छैन। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यो समस्याको विषयमा आफूले मन्त्रिपरिषद् बैठकका साथै परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको बताए। ‘यो समस्याको समाधान निकाल्न कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयका अधिकारीसँग प्रत्यक्ष र पत्राचार गरी छलफल भइसकेको छ,’ मन्त्री भट्टले भने, ‘तर, हालसम्म समस्या समाधान हुन सकेको छैन। यही साता राजधानी गएपछि यो विषयलाई गम्भीर रुपमा छलफल गरी निकास दिन्छौं।’ उनका अनुसार कोभिड १९ को विषयमा चिनियाँ पक्षलाई आश्वस्त गर्न नसक्दा समस्या सिर्जना भएको हो। मन्त्री भट्टले पछिल्लो समयमा ती दुवै नाकामार्फत दैनिक ४–५ कन्टेनर मात्रै आउँदा नेपाली व्यवसायी आर्थिक रुपमा धरासायी बनेको जानकारी दिए। मन्त्रालयका सहसचिव प्रकाश पौडेलले कोभिड–१९ का कारण चिनियाँ पक्षले आपूर्ति प्रक्रियामा कडाइ गरेको बताए। दुवैतर्फका कामदारको दुवै पक्षबाट नियमित पीसीआर परीक्षण गरिए पनि चिनियाँ पक्ष सन्तुष्ट नहुँदा आपूर्ति प्रणाली असहज बनेको पौडेलको भनाइ छ। उनका अनुसार चिनियाँ पक्षले ‘जिरो कोभिड’को नीति लागू गरेकाले नेपाली पक्षबाट उनीहरू आश्वस्त हुन नसकेका हुन्। ‘हाम्रो परीक्षणमा नेगेटिभ आएको बिरामीको परीक्षण गर्दा उनीहरुले पोजिटिभ भेट्टाउँदा रहेछन्’, पौडेलले भने, ‘यसले गर्दा समस्या सिर्जना भएको हो।’ उनले कूटनीतिक पहलबाट चाँडै यो समस्या समाधान निकाल्ने जानकारी दिए।

तातोपानी नाका हुँदै दसैंअघि नै ल्याउने तयारी गरिएका सामान अब खासाबाट काठमाडौं पुर्‍याउन अझै डेढ महिना लाग्ने देखिएको छ। चिनियाँ पक्षले सीमित मात्र गाडी खासाबाट तातोपानी सुख्खा बन्दरगाहसम्म पठाइरहेका छन्। नाका खुलेको ६ दिनमा जम्मा १६ कन्टेनर सामान मात्र भित्रिएको तातोपानी भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए। चिनियाँ पक्षले खासाबाट दुई चिनियाँ र चारवटा नेपाली गाडी छाड्ने भने पनि त्यसअनुसार आयात नभएको खत्रीको भनाइ छ। व्यवसायीले दसैंअघि नै झण्डै १ सय ५० कन्टेनर सामान खासामा स्टोर गरेका थिए। ‘चिनियाँ पक्षले अहिलेकै गतिमा सामान छाड्ने हो भने जाडोका लागि अर्डर गरिएका सामान गर्मी र गर्मीका लागि अर्डर गरिएका सामान जाडोमा आइपुग्छ’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले भने, ‘व्यवसायीको लगानी डुब्ने खतरा बढ्दै गएको छ।’ खासाबाहेक ल्हासा र सिगात्सेमा रहेका सामानसमेत कसरी ल्याउने भन्ने चिन्ताले सताएको श्रेष्ठको भनाइ छ।

खत्रीले चिनियाँ पक्षलाई बढी सामान छाड्न आग्रह गरिए पनि ठोस जवाफ नआएको जानकारी दिए। ‘मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासमार्फत खासामा रहेका नेपाली व्यवसायीका सामान छिटोभन्दा छिटो ल्याउन पहल भइरहेको छ’, उनले टेलिफोनमा भने, ‘चिनियाँ पक्षले पनि यसलाई सकारात्मक रूपमा लिएको छ। छिट्टै निकास निस्केला।’ उनका अनुसार चिनियाँ पक्षले सामान छाडे तातोपानी भन्सारमा सबै स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सामान जाँच पासको प्रक्रिया अपनाइएको छ। खासा भन्सार र अन्य निकायलाई कम्तीमा दैनिक २० वटा गाडी छाड्न आग्रह गरिएको उनको भनाइ छ। ‘खासामा स्टोर भएका सामान क्लियर गरेर थप सामान ल्याउने वातावरण सिर्जना गर्न लागिपरेका छौं’, उनले भने, ‘चिनियाँ पक्षले सकारात्मक रूपमा लिएकाले छिट्टै निकास निस्केला।’ हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीले सरकारले कूटनीतिक पहल नगर्दा व्यवसायीको लगानी डुब्ने अवस्थामा पुगेको बताए। नेपाल र चीन सरकारको स्पष्ट कुरा नआउँदा व्यवसायीका करोडौं रुपैयाँ चिनियाँ स्टोरमा थन्किएको खत्रीको गुनासो छ।

यस्तै, रसुवागढी नाकामा कोरोनाका कारण चिनियाँ गाडीबाट मात्र सामान ल्याउने सहमति भएका कारण अर्डरअनुसार आयात हुन सकेको छैन। चीनको केरुङतर्फ सामान लिन नेपाली गाडी जान नपाउने र चीनका पाँच गाडीले मात्र नेपालसम्मको सिमानामा सामान ल्याएर बुझाउने भएका कारण व्यापारीले अर्डर गरेअनुसार जाडोका सामान ल्याउन नपाएका हुन्। व्यापारीका अनुसार १० अर्बभन्दा बढी मूल्यको सामान चीनको केरुङमै रोकिएका छन्। गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्वु तामाङले चाडपर्व तथा जाडो यामका सामान चीनको केरुङमै रोकिएको जानकारी दिए। रसुवा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका तामाङले सामान आयात बढाउन सरकारले पहल गरिदिनुपर्ने बताए।

रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सामानको मात्राका विषयमा कुनै औपचारिक जानकारी नभएको बताए। केही व्यापारीले आफूलाई सहजीकरण गरिदिन माग भने गरेको पन्तको भनाइ छ। रसुवा भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले चालु वर्षको चार महिनामा मंगलबारसम्म १२ अर्बको सामान भित्रिएको जानकारी दिए। गत वर्ष यही अवधिमा रसुवागढी हुँदै २७ अर्ब मूल्यका लत्ताकपडा तथा अन्य सामान आयात गरिएको थियो। केरुङबाट दैनिक पाँचवटा चिनियाँ गाडीमा तयारी पोशालगायत सामान रसुवागढी ल्याइदिन्छन्। सामान लोड गर्न नेपालबाट १० वटा कन्टेनर दैनिक रूपमा रसुवागढी पुग्ने गरेका छन्। नेपाली व्यापारीले गत वर्षभन्दा बढी चीनको केरुङमा वडादशैं, तिहार तथा अन्य चाडपर्व र जाडोयामका सामान अर्डर गरेको जनाइएको छ। तर, उताबाट गाडी कम आएपछि विगत वर्षजसरी आयात हुन नसकेको भन्सार प्रमुख खड्काले बताए।

नाका सहज रूपमा सञ्चालन भएका बेला दैनिक ४ करोड रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको थियो। चालु वर्षको असोज र कात्तिकमा २३ करोड रुपैयाँ राजस्व संकलन भएको रसुवा भन्सारले जनाएको छ। पहिलो चार महिनाको राजस्व संकलन निराशाजनक देखिएको छ। गत आवको सोही अवधिमा ४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो। साउन र भदौमा लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको हो। साउनमा ६८ करोड १० लाख ६५ हजार लक्ष्य राखिएकामा २३ करोड ५६ लाख ९८ हजार मात्र उठेको थियो। भदौमा ७९ करोड ३८ लाख ६८ हजार रुपैयाँ लक्ष्य राखिएकामा १५ करोड ३७ लाख राजस्व संकलन भयो। चार महिनामा ८० करोड रुपैयाँ मात्र राजस्व संकलन गरिएको खड्काले बताए।

कोरोना भाइरस जोखिमका कारण माघ १५ देखि असार २७ गतेसम्म रसुवागढी नाका बन्द थियो। नाका खुलेपछि पनि नियमित कारोबार हुन सकेको छैन। खड्काका अनुसार १० महिनादेखि अर्डर गरिएका सामान मात्रै चीनवाट आइरहेका छन्। रसुवागढीबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात हुने गरेको छ। यस्तै, नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ। पछिल्लो समय चीनले नेपालबाट निर्यातका लागि अनुमति दिएको छैन। रसुवागढी नाकालाई चीनले सन् २०१७ को सेप्टेम्वर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाका रूपमा मान्यता दिइसकेको छ।

यस्तै, २०७२ सालको भूकम्पपछि बन्द तातोपानी नाका २०७६ जेठदेखि आंशिक रूपमा खुलेको  थियो। तर, कोरोना भाइरस संक्रमण बढेपछि बन्द नाकाबाट बीचमा चीन सरकारले सहयोग गरेका स्वास्थ्य सामग्री ल्याइएको थियो। दसैंअघि नाका खोल्ने प्रक्रिया सुरु भएपछि व्यवसायीले खासामा सामान ल्याएर स्टोर गरेका थिए। नाका खुलेकै दिन एक नेपाली कन्टेनर चालकमा कोरोना संक्रमण देखिएपछि चिनियाँ पक्षले एकतर्फी रुपमा नाका बन्द गरेको थियो। त्यसपछि अलपत्र सामान ल्याउन नाका सञ्चालनमा आए पनि औसत तीन गाडीभन्दा बढी सामान ल्याउन नदिएपछि अझै कति समय नेपाली व्यवसायीका सामान खासामा अलपत्र पर्ने हो भन्ने यकिन नहुँदा व्यवसायी चिन्तित छन्। अन्नपुर्णपोष्ट दैनिक