२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ: शंकर पोखरेल



अ+ अ-

काठमाडौँँ । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताउनुभएको छ ।

राज्यलाई बलियो बनाउन र जनतालाई आफ्नो अधिकारलाई प्रयोग गर्नसक्ने बनाउन पनि लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने महासचिव पोखरेलको तर्क थियो । शुक्रवार कीर्तिपुरमा एमाले मुख्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले सो भवन आधुनिक हुने र त्यसले मुलुकमा निर्माणमा समेत सहयोगी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सो भवन १० रोपनी १४ आना जग्गामा बन्दैछ । भवन भाटभटेनी सुपरमार्केटका प्रमुख मीनबहादुर गुरुङले सो भवन निर्माण पनि गरिदिने प्रतिवद्धतासहित एमालेलाई जग्गा उपलब्ध गराउनुभएको हो । महासचिव पोखरेलले सो जग्गा उपलब्ध गराउने गुरुङ र उहाँको परिवारप्रति आभार व्यक्त गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा राजनीतिक दलहरु समाजमा प्रतिनिधि संस्थाका रुपमा रहेका छन् । र तिनीहरु बलिया हुनसके भने मात्रै लोकतन्त्र बलियो हुन्छ । राज्य बलियो हुन्छ । लोकतन्त्रमा राज्य बलियो भयो भने मात्रै जनताले अधिकारलाई प्रयोग गर्नसक्ने स्थिति बन्दछ । त्यस अर्थमा हामी आधुनिक नेपालको निर्माणको सन्दर्भमा एउटा आधुनिक कार्यालय भवनको जुन खाँचो थियो । त्यो खाँचोलाई मीनबहादुर गुरुङजी, सावित्री गुरुङजीको तर्फबाट दानका रुपमा उपलब्ध गराउने जुन अठोट गर्नुभएको छ, संकल्प गर्नुभएको छ । त्यसका लागि म पार्टीको तर्फबाट उहाँहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । र यो ठाउँमा एक वर्ष भित्र आधुनिक कार्यालय बनाउने संकल्प लिएका छौं । त्यही कुराहरु म आफ्नो तर्फबाट राख्न चाहन्छु ।’

यता गुरुङले भने आफूलाई विश्वास गरेर एमालेले सो भवन निर्माण गर्ने अवस दिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफू एमाले निकट रहेकाले पनि सो भवन निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । व्यवसायी गुरुङले सो भवन नौ रेक्टर स्केलको भूकम्पलाई पनि धान्नेगरी बनाएर आगामी वर्ष २०८२ सालको दशैंको घटस्थापनाको दिन एमालेलाई हस्तान्तरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेले विश्वास गरेर हामीलाई जुन मौका दिनुभयो । त्यसका लागि हामी हृदयदेखि नै धेरैधेरै धन्यवाद दिन चाहन्छौ । एउटा व्यवसायीको रुपमा आफ्नो जिम्मेवारी पूरा गरेको छु । त्यसमा अन्यथा केही पनि छैन । र मैले आफ्नो कर्तव्य पूरा गरेको छु भन्ने मलाई लागेको छ । यो भवन नौंं रेक्टरसम्मको भूकम्पलाई धान्नेगरी यो भवन निर्माण हुनेछ । सबै विपद्लाई हेरेर एकदमै अत्याधुनिक र सुन्दर भवन बनाई दिनेछौं भन्ने प्रतिवद्धता जाहेर गर्दछौं । र यो भवन अर्को सालको घटस्थापनाको दिन उद्घाटन हुन्छ । त्यो दिनका लागि म अहिले नै सबैलाई निम्ता गर्न चाहन्छु ।’

व्यवसायी गुरुङले आफूले व्यवसायीको रुपमा अन्य राजनीतिक दल र समाजको अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको पनि स्मरण गराउनु भयो ।