१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटियो दुई दिनदेखि हराएको बस



अ+ अ-

काठमाडौं । धादिङको लनौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।

पहिरोमा सवारी साधन पुरिएको आशंकामा खोजी गर्दा एउटा बस फेला परेको हो । बसको केही भाग मात्र देखिएको छ । नम्बर भने खुलिसकेको छैन । डोजर प्रयोग गरेर पहिरो पन्छाउने प्रहरीको प्रयास जारी छ ।

गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ ।

गोरखाको दरौदी यातायातको बस बेपत्ता भएको थियो । शुक्रबार बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाडौका लागि छुटेको थियो । सोही दिनको राति १० बजे खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्क हुन नसकेको कम्पनीले जनाएको छ ।

सोही बस अहिले पुरिएको अवस्थामा फेला परेको हुनसक्ने आशंका छ ।

यसैबीच बुटवलबाट शुक्रबार बिहान छुटेको लु १ ज ४५७८ नम्बरको विंगर बस शुक्रबार राति नै पुरिएको भए पनि शनिबार साँझ मात्रै गाडी र १४ यात्रुको शव फेला परेको पश्चिम नेपाल बस व्यवसायी समितिले जनाएको छ । समितिको बुटवलस्थित टिकट काउन्टरका कर्मचारी लक्ष्मण कार्कीका अनुसार गाडीले बुटवलबाट १३ जना यात्रु लिएर शुक्रबार बिहान हिँडेको थियो ।

लु १ ज ४५७८ नम्बरको उक्त गाडी शुक्रबार बिहान बुटवलबाट छुटेको थियो । गाडी शुक्रबारै राति पहिरोमा पुरिएको थियो । बुटवलबाट १३ यात्रु लिएर हिँडेको उक्त गाडीका यात्रु र चालक गरी १४ जनाको शव फेला परेको नागढुंगा प्रहरीले जनाएको छ ।

गाडीबाट ८ पुरूष, ५ महिला र १ बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । हालसम्म चालक रमेश लुइँटेल, बुटवल–१६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको छ ।