७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

विदेशिए गोठाला, हराए गोठ

विदेशिए गोठाला, हराए गोठ
अ+ अ-

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए ।

बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश र सहरमोहले घुम्ती गोठमा भेडाबाख्रा र गाईभैँसी पाल्ने चलन हराउन थालेको बताउनुभयो । अढसठ्ठी वर्षीय भण्डारीले ५४ वर्षदेखि घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएको छ । पाँच सयभन्दा बढी भेडाबाख्राको बथान लिएर बर्खामा लेक र हिउँदमा बेँसी गर्ने उहाँ आफ्नो पुस्तासँगै गोठ बस्ने चलन पनि हराउने चिन्तामा हुनुहुन्छ ।

“देशभित्र काम गर्न लाज मान्ने तर विदेशमा अर्काको नोकर हुन तयार हुने संस्कारको विकासले गर्दा बूढापाकासँगै गोठहरू हराउन थालेका छन्”, उहाँले भन्नुभयो, “वृद्धहरूको भरमा गोठ धानिएका छन् ।”

बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै जानुभएको छ । पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको पाटनमा भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाउनुभयो ।

“पहिले एक सय भेडाबाख्रासँगै आठ–दशवटा गाईभैँसीको गोठ लिएर बुकी र बेँसी गर्दथँे । गाईभैँसी बेचेर सकिए । चालीसवटा भेडाबाख्रा छन्”, उहाँले भन्नुभयो, “छोराछोरीले यो पेशा रोजेनन् । विदेशतिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।”

वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिँदैनन् । वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा सङ्कटमा परेको म्याग्दीको अन्नपूर्ण–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताउनुभयो ।

“गोठ बस्ने गोठाला पाइनै छाडे”, पाँच सय भेडा पालेका उहाँले भन्नुभयो, “भेडाबाख्रा बेचेर वर्षमा रु आठ लाख जति कमाई गर्न सकिन्छ, तर गोठ बस्ने मान्छे नपाएर समस्या हुन थालेको छ ।” मुस्ताङमा भेडाच्याङग्रा र चौँरी गोठालालाई वार्षिक रु एक लाख ५० हजार तलब छ ।

गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने राम्जालीले बताउनुभयो । असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेँसीतर्फ झार्न थालेका छन् । अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दु:ख र झञ्झट मानेका छन् ।

धवलागिरि गाउँपालिका–३ मुनाका ७७ वर्षीय गङ्गाबहादुर पहरे पुनका अनुसार खेतबारीमा मल बनाउन, ‘गोरस’ (दूध, दही, मही र घ्यू), धार्मिककार्य र गोरुका लागि घरैपिच्छे गाई पालेर लेकबेँसी गर्ने चलन थियो । “कामको खोजीमा विदेश जाने क्रमसँगै गाउँमा गोठ बस्ने मान्छे पाइन छाडे”, उहाँले भन्नुभयो, “ट्रयाक्टर भित्रिएपछि गोरु नचाहिने भएकाले गाई पाल्ने चलन झनै घट्यो ।”

पहिले हरेक घरको एउटा गोठ हुने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईवस्तु लिएर एक जना गोठमा जाने गरेको पुनले बताउनुभयो । बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेँसीका फाँटमा झर्छन् । रासस