११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको एक बेजोड केन्द्र तक्षशिलाको यात्रा (फोटो फिचर)



अ+ अ-

अंग्रेजीमा टाक्सिला भनिने तक्षशिला प्राचीन भारतवर्षमा गान्धार देशको राजधानी तथा शिक्षाको मुख्य केन्द्र थियो । यो हिन्दू र बौद्ध धर्मका अनुयायी दुवैका लागि महत्वपूर्ण स्थान थियो । भनिन्छ, अर्थशास्त्र, रणनीति लगायतका विषयमा पारङ्गत विद्वान चाणक्य पनि यहाँका आचार्य थिए । अहिले यही तक्षशिला पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा छ, र पाकिस्तान सरकारले यसलाई उच्च महत्वका साथ संरक्षण गरिरहेको छ । सन् १९८० मा टाक्सिलालाई विश्व सम्पदा सूचीमा सूचीकृत पनि गरिएको थियो । 

हिन्दू र बौद्ध धर्मावलम्बीले तक्षशिला भन्ने गरेको यो ठाउँको नामकरण खासमा तक्ष नामका राजाका कारण भएको हो । हिन्दूहरुले यो ठाउँलाई तक्षखण्ड पनि भन्छन् जसको संस्कृत अर्थ ‘राजा तक्षको लागि’ हो । रामायणका अनुसार तक्ष भरत र माण्डवीका छोरा थिए ।


ईसापूर्व पाँचौँ शताब्दी अर्थात् आजभन्दा झण्डै २५०० वर्षअघि तक्षशिला पूरै भारतवर्षमा शिक्षाको एक बेजोड केन्द्र थियो । पछि यहाँ आधुनिक नालन्दा विश्वविद्यालय पनि बन्यो तर यो खास पुरानो तक्षशिला भने होइन । 
तक्षशिलाको ख्याति महान अर्थशास्त्री चाणक्य (विष्णुगुप्त) को कारणले पनि छ जो यहाँका प्राचार्य थिए र उनले चन्द्रगुप्तसँग मिलेर मौर्य साम्राज्यको जग बसाएका थिए । आयुर्वेदका महान विद्वान चरकले पनि तक्षशिलामा शिक्षा लिएका थिए ।

अहिलेको भारतको पाटलीपुत्रदेखि तक्षशिला जाने मुख्य व्यापारिक मार्ग मथुरा हुँदै गएको थियो । बौद्ध धर्मको महायान शाखाको विकास तक्षशिला विश्वविद्यालयमा नै भएको उल्लेख पाइन्छ ।

महाभारत वा रामायणमा यसको विद्याकेन्द्र भएको चर्चा छैन, तर ईसापूर्व सातौँ शताब्दीमा यो ठाउँ विद्यापीठका रूपमा प्रख्यात भई राजगृह, काशी र मिथिलाका विद्वानहरूको आकर्षणको केन्द्र बनेको थियो । रामायणमा यसलाई भरतले राजकुमार तक्षको नाममा स्थापना गरेको भनिन्छ, जसलाई यसको शासक नियुक्त गरिएको थियो । जनमेजयको सर्पयज्ञ यही स्थानमा भएको थियो ।

इन्दु उपत्यकामा अलेक्जेन्डर दी ग्रेटले ईसापूर्व ३२६ मा आक्रमण गरेको समयमा यो विद्यापीठ पश्चिमी मुलुकका दार्शनिकहरूका लागि पनि कौतूहलको विषय थियो ।  कोसलका राजा प्रसेनजिन र बिम्बिसारका राजवैद्यका छोरा जीवकले तक्षशिलामै शिला लिएका थिए । कुरु र कोसल राज्यहरूले यहाँ प्रत्येक वर्ष निश्चित संख्यामा विद्यार्थी पठाउँथे भनिन्छ । 

भारतका विभिन्न भागबाट सयौँ राजकुमार तक्षशिलाको धनुशास्त्र विद्यालयमा युद्धविद्या सिक्न आउँथे । यहाँ जातकहरूमा पढाइएका विषयहरूमध्ये वेदत्रयी, अठार वटा कला र शिल्पको वर्णन पाइन्छ ।

ईस्वी संवत् ४०५ मा चिनियाँ बौद्धभिक्षु फाह्यान बौद्ध धर्मका पुस्तक र अन्य पाठ्य सामग्री खोजी गर्दै यहाँ आइपुगेका थिए । उनले यहाँ शैक्षिक महत्वको विशेष कुनै कुरा फेला पारेनन् । सातौँ शताब्दीमा अर्का चिनियाँ बौद्धभिक्षु ह्युएन त्साङले लेखेको यात्रा वर्णनमा पनि तक्षशिलाले आफ्नो महिमा लगभग गुमाइसकेको बताएका थिए, अर्थात् उनको भनाईमा तक्षशिला अब पूरानो लय र वयमा थिएन ।

वास्तवमा मौर्यकालपछि यसको शिक्षाको चर्चा सुनिँदैन । मुस्लिम, इसाई, चिनियाँ समेतका विदेशीहरूको बर्बर, निर्मम आक्रमणबाट तक्षशिलाको पूरानो गौरव, वैभव र संरचना निमिट्यान्न पारिएको थियो । सुरक्षा त टाढाको कुरा थियो ।

अहिले त्यही तक्षशिला पाकिस्तानमा एउटा पुरातात्विक महत्वको स्थान भएर सुरक्षित रहन पाएको छ । पाकिस्तान सरकारले यहाँ बनाएको संग्रहालयमा तक्षशिलाले विभिन्न कालखण्डमा भोग्नु परेका आक्रमणका पीडादायी कथा संग्रह गरेको छ । यहाँ संग्रहित कला, मूर्ति र अन्य भग्नावशेष हेर्दा इतिहास कति क्रुर र निर्मम थियो भन्ने छर्लङ्ग हुन्छ । यहाँ संग्रहित मूर्ति र अन्य कलाहरुका कुनैको टाउको छैन, कुनैका हात छैनन्, अर्थात् पूरै अङ्गभङ्ग र क्षतविक्षत अवस्थामा छ । तथापी यो ठाउँ हेर्न बर्सेनि ठूलो संख्यामा मानिसहरु पुग्ने गरेका छन् । र पाकिस्तान सरकारले नियुक्त गरेका कर्मचारीले यहाँको इतिहास, आक्रमणको कालखण्ड समेतका विविध विषयमा गाइडका रुपमा सेवा दिने गरेका छन् । मुस्लिम अतिवादीको आक्रमणको खतरा अझै रहेको भन्दै पाकिस्तान सरकारले यहाँ कडा सुरक्षा व्यवस्था गरेको छ ।

आजभोलि कस्तो देखिन्छ तक्षशिला ?

टाक्सिला रावलपिन्डीको मुख्य शहरबाट झण्डै ४० किलोमिटर उत्तर पश्चिममा रहेको छ । अग्लो पहाडको फेदीजस्तो मनोरम समथल भूभागमा सानो टाक्सिला शहर छ । टाक्सिलाको संरक्षित पुरातात्विक स्थलमा पुग्नासाथ प्रवेशद्वारमा निश्चित शुल्क बुझाएर भित्र प्रवेशका लागि अनुमति दिइन्छ । भित्र एउटा संग्रहालय छ जसमा तक्षशिलाको महत्व दर्शाउने चित्र, मूर्ति र अन्य कलाकृति संग्रहित छन् । यी कलाकृतिको अवलोकन र जानकारी प्राप्त गरेपछि एउटा झण्डै ५० रोपनीमा फैलिएको उबडखाबड जमिन छ जसलाई तारबारले घेरिएको छ । 

यो जमिनको लगभग मध्य भागमा ढुंगामाटोले बनाइएको ढिस्कोजस्तो एउटा बौद्ध स्तुपा छ । बौद्ध धर्मावलम्बी र अरु पर्यटकले यसको परिक्रमा गर्ने गर्दछन्, र यसको एक ठाउँमा भित्र पसेर ध्यान गर्न मिल्ने एउटा ओढार पनि छ । स्तुपाको वरिपरि जताततै पूराना भवनका भग्नावशेषहरु ठूलै संख्यामा लहरै देख्न पाइन्छ । यस्तो लाग्छ अझै पनि यहाँ उत्खननको काम सकिएको छैन । पाकिस्तानी गाइडहरुका अनुसार जमिनमा भवनहरु धसिएका छन् र तिनीहरुको उत्खनन् हुन बाँकी छ ।