• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

पलेशा र भरतको प्रतिद्वन्द्वी तय



पेरिस: पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्डोमा सहभागी हुने नेपाली खेलाडी पलेशा गोबद्र्धन र भरतसिंह महताको प्रतिद्वन्द्वी मंगलबार टुंगो लागेको छ । मंगलबार निकालिएको ‘ड्र’ बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुंगो लागेको प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट जानकारी गराए ।

पेरिसस्थित ग्रान्ड पेलेसमा अगष्ट २९ तारिखमा भरतले पहिलो चरणमा जापानका मित्सुया तानाकासंग खेल्ने छन् । उनको स्पर्धा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि जम्मा १२ खेलाडी छन् । भरत वाइल्ड कार्ड मार्फत छनोट भएका हुन् ।

के– ४४ क्याटगोरीकै महिला ५७ केजीमुनि पलेशाले भेनेन्जुएलाकी भलेरिया मोराल्स विरुद्ध अगष्ट ३० तारिखमा खेल्ने छिन् । यो स्पर्धामा ११ खेलाडी छन् । पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपाचेज खेल्ने अवसर मिल्ने छैन ।

पलेशा भने छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । पलेशा १९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुन् ।

पदकको आशा गरिएकी पलेशासंग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ । त्यस पारालिम्पिकमा पलेशा कांस्य भिडन्तमा चीनकी खेलाडीसंग चुकेकी थिइन् ।

नेपाली पारा तेक्वान्दो टोली इङल्यान्डको म्याचेस्टरमा १ महिनाको तयारी प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको थियो । तेक्वान्दो टोलीको व्यवस्थापकमा नेपाल तेक्वान्दो संघ एवं नेपाल पारालिम्पिक कमिटीका सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।

पेरिस पारालिम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन् । उनले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् । नेपाली टोलीको सेफ दि मिसनमा पारालिम्पिक कमिटीका सदस्य सरोज श्रेष्ठ छन् । उद्घाटन समारोह बुधबार हुनेछ ।