२१ भाद्र २०८३, आईतवार
,
Latest
ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु १६ अर्ब ९३ करोडको विद्युत् निर्यात, नेपाल बन्यो खुद विद्युत् निर्यातकर्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी रु १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।

प्राधिकरणले गत आवमा रु १६ अर्ब ८१ करोड तीन लाखको विद्युत् आयात गरेको जनाएको छ । सुक्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपैयाँ १७ पैसा छ ।

गत आवमा आयातभन्दा रु १२ करोड २३ लाखको बढी विद्युत् भारततर्फ निर्यात भएको छ । यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ । आव २०७९र८० मा भारतबाट रु १९ अर्ब ४४ करोड ४० लाखको विद्युत् आयात भएको थियो भने रु १० अर्ब ४५ करोड ५० लाखको निर्यात गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परे पनि निर्यातको परिमाण बढ्दै जाने बताउनुभयो । “छ/सात वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो, तीन वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरे पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो”, उहाँले भननुभयो, “गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ, थोरै परिमाणमा खुद निर्यातकर्ता भए पनि यो महत्वपूर्ण उपलब्धि हो, ऊर्जा क्षेत्रका लागि एउटा कोसेढुङ्गा हो ।”

विद्युत्को पर्याप्त उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट आएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । “विद्युत् निर्यात परिमाण बढ्दा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको छ, यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको छ”, उहाँले भन्नुभयो ।

नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताका रुपमा पनि प्रवेश पाएको थियो ।

हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब सात सय मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित छ सय ९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो ।

कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप चार सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको उल्लेख गर्नुभयो । “हरियाणा र विहार राज्यलाई बिक्री गर्ने गरी थप चार सय मेगावाट विद्युत् निर्यात गर्न भारतको सम्बन्धित निकायबाट अनुमति आउने चरणमा छ, बङ्गलादेशसँग पनि छिट्टै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट निर्यात गर्दैछौँ”, उहाँले भन्नुभयो । ‘लिऊँ या तिर’ सर्तसहित विद्युत् खरिद बिक्री सम्झौता गरिएका निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाइनमा समस्या आउँदाको अवस्थामा बाहेक सारभूत रुपमा खेर नगएको उहाँले जानकारी दिनुभयो ।