१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ दिनअघि त्रिशूलीमा हराएका यात्रु र बसको खोजी रोक्ने तयारी



अ+ अ-

काठमाडौं । चितवनको त्रिशुली नदीमा १७ दिनअघि हराएका दुई वटा बस र त्यसमा सवार यात्रुको खोजीको प्रयास असफल भएपछि सरकारले अब खोजी नै रोक्ने तयारी गरेको छ । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको आज १७ दिन भएको छ ।

काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस सिमलतालमा आएको पहिरोले बगाएर त्रिशूलीमा खसालेको थियो । दुवै बसमा गरी ६५ यात्रु थिए । तीमध्ये तीन जना हाम फालेर बाँचेका थिए भने २० जनाको शव भेटिएको छ । खोजीका क्रममा भेटिएका अरु चार वटा शवको पहिचान भएको छैन । बाँकी यात्रु बेपत्ता छन् ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर अहिलेसम्म खोजी गरिरहेका छन् । भारतबाट आएको टोली त आजै स्वदेश फर्कने तयारीमा छ ।

बसको खोजीमा दैनिक सयौं जना सुरक्षाकर्मी परिचालन गरिएको छ । पछिल्लो समय नारायणी नदी किनारमा शव पनि भेटिन छाडेको छ ।

बस र यात्रुको कहिलेसम्म खोजी गर्ने भन्ने अन्योल भइरहेका बेला अब प्रशासनले खोजी नै रोक्ने तयारी गरेको हो । स्थानीय प्रशासनले गृहमन्त्रालयको निर्देशन कुरेर बस्ने छ ।

अहिले मध्य बर्खा पनि भएकाले पानीको तीव्रबहाव छ र नदी धमिलो पनि छ । त्यसैले बस भेटिने सम्भावना कम रहेको निष्कर्ष सुरक्षाकर्मीले निकालेका छन् ।

हराएका बसको खोजीका लागि गत साउन ४ गते आएको १२ जना भारतीयकोे खोजी तथा उद्दार टोली आज फर्कंदैछ ।

यसैबीच, शनिबार दिउँसो बसको खोजी लागि प्रयोग गरिएको १९ किलोको चुम्बक नै पानीमा हराएको छ । भारतबाट १४ र १९ किलोको दुईवटा चुम्बक ल्याएर खोजी गरिएको थियो । तीमध्ये १९ किलोको चुम्बक हराएको प्रहरी स्रोतले जानकारी दिएको छ । चुम्बकसँगै लाइफ ब्वाई ट्युब पनि पानीले बगाएको छ ।