२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमालेले जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जाने अध्यक्ष दाहालको चेतावनी



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

संविधान संशोधन गरेर सत्तारुढ काँग्रेस एमालेले जनताको अधिकार खोस्ने दुःशाहस गरिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सफल हुन नदिने बताउनुभएको हो । उहाँले फेरि सडकमा पलेटी कसेर जन दबाब सृजना गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौति गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यस बिरुद्ध संघर्ष गर्ने बताउनु भयो ।

दुई वटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने खालको भएको जिकिर गर्नुभयो । उहाँले त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने पनि बताउनु भयो ।

अध्यक्ष दाहालले ठूला दुई दलले थ्रेस होल्ड बढाएर साना दलहरुलाई निष्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले पनि के स्पष्ट छ भने संसदको पहिलो र दोस्रो पार्टी मिल्नेकुरा सामान्य त त्यो स्वभाविक मानिँदैन । कथित संसदीय लोकतन्त्रमा त झन मानिँदैन । तर अहिले त्यो अभ्यास गर्न खोजिँदैछ । दुई दलीय सिष्टममा लैजाने उद्देश्यका साथ सो काम हुँदैछ । संविधान संशोधनको उद्देश्यका साथ । यहाँ केही साथीहरुले भन्नुभयो–यहाँ तीन वटा धारको कुरा । त्यस्तो छैन ।

संविधान संशोधन गर्नै हुँदैन भनेर कसैले पनि भनेको छैन । अझ हामीत संविधान संशोधन गर्नुपर्छ भन्नेमा छौं । किनकी संविधान सभामा महिलाको अधिकार अथवा अरु उत्पीडित समुदाय, वर्गको अधिकार अझै पुगेको छैन । यहाँ त्यो अधिकारलाई अझ बढोत्तरी गर्नुपर्छ भनेर रिजर्भेसन राख्ने, भिन्न मत राख्ने, नेट अफ डिसेन्ट राख्ने पार्टी हुनुको नाताले हामी संविधान संशोधनको पक्षमा छौं । तर हाम्रो बिरोध संविधान संशोधनको नाममा प्रतिगमनतिर नेपाली जनतालाई निकै ठूलो त्याग र बलिदान गरेर प्राप्त गरेको अधिकार खोस्ने जो दुःशाहस हुँदैछ ।

हाम्रो त्यहाँ बिरोध हो । हामी कुनैपनि हालतमा त्यसो गर्न दिने छैनौं । हामी फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भएपनि जनताको साथमा बसेर भएपनि तिनीहरुको त्यो दुःष्प्रयास सफल हुन दिने छैनौं भनेको हो हामीले । त्यसकारण संविधान संशोधनको सैद्धान्तिक विरोध होइन । संविधान सभाबाट बनेको यो संविधानको मूलभूत विशेषता के हो भने यो देशले परिवर्तनलाई आत्मासात गरेको छ ।

समयसमयमा जनभावना अनुसार, जनताको आवश्यकता, राष्ट्रको आवश्यकता अनुसार संविधानका सबै पक्षहरु, प्रावधानहरु संशोधन हुन सक्छन् भनेर ढोका खुला राखेको छ । खाली देशको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, जनताको सार्वभौम सत्ता जस्ता आधारभूत कुरा ती मात्रै अपरिवर्तंनीय छन । अरु सबै राजनीतिक प्रणाली, सिद्धान्त, मान्यता ती सबै जनताको चाहना, आवश्यकता र समयको आवश्यकता अनुसार परिवर्तन गर्न सकिन्छ भनेर भनिएको छ ।

संविधान सभाबाट बनेको यो संविधानको राम्रो पक्ष पनि यही हो भन्ने मलाई लाग्छ । त्यसमा थुप्रै राम्रा कुराहरु पनि छन् । थुप्रै सिमाहरु पनि छन् । तर अहिले दुई वटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने ।

देशमा भएका विभिन्न विचार, राजनीतिक प्रवृत्ति, तिनीहरुको बीचमा बहस, छलफल हुन नदिने, अहिले एउटा कुरा आईराखेको छ–थ्रेस होल्डको कुरा । तपाईहरुले पनि सुन्नुभएको होला । थ्रेस होल्ड बढाएर साना पार्टीहरु सबैलाई निस्तेज पार्ने, तिनीहरुको अस्तित्व बिहीन बनाउने र अनि तथाकथित दुई पार्टी सिष्टम, जो पश्चिमा देशहरुमा चल्ने गरेको छ ।

त्यसैमा नेपाललाई पनि जब्बरजस्ती लैजाने खोज्ने र त्यहीमार्फत अधिनायकवादतिर देश लैजाने कोशिस भएको हुनाले नै हाम्रो विरोध हो । र हामी संसदमा मैले विश्वासको मत लिँदै गर्दा बडो विचित्रको परिघटनाहरु भए । म त्यतापट्टी धेरै जान त चाहन्न । तर त्यहाँ हामी सबैले अपिल गरेको नेपाली जनता सबै समुदाय, जातजाति, भाषा, धर्म सबैलाई गरेको अपिल के हो भने खवरदार नेपाली जनताले लामो समयको संघर्ष र बलिदान र अब त ७५ वर्षको कम्युनिष्ट आन्दोलन, यस बीचमा भएका सामन्तवाद बिरोधी, साम्राज्यवाद बिरोधी संघर्षमा भएको बलिदानहरु र उपलब्धिहरुमाथि फेरी पनि औला ठडयाउन खोजिएको छ । त्यसलाई रोक्नुपर्दछ । जनताको तागतले त्यसलाई रोक्नैपर्दछ । रोक्न सकिन्छ ।

हामीले त यही अपिल गरेका छौ । आज कमरेड पुष्पलालको जन्मशताब्दीको अवसरमा पनि हामीले एउटा संकल्प लिनैपर्दछ–सबै देशभक्त कम्युनिष्ट शक्तिलाई एउटै झण्डामुनि ल्याउने प्रयास छोडिन हुँदैन । र प्रतिक्रान्तिकारीहरु, प्रतिगमनकारीहरुले संविधानमाथि घात गर्ने दुःशाहस सफल हुनैछैन ।’

अध्यक्ष दाहालले सबै कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयासलाई पनि अघि बढाउने बताउनु भयो ।