बेइजिङः चीनले अन्तरिक्ष विज्ञानमा अर्को एउटा महत्वपूर्ण एवं ऐतिहासिक सफलता प्राप्त गरेको छ । चिनियाँ वैज्ञानिकहरुले बनाएको चाङ–ए ५ नामको अन्तरिक्ष यानले चन्द्रमाबाट चट्टानका नमूना लिएर पृथ्वीमा सफलतापूर्वक अवतरण गरेको छ ।
बेइजिङ समय अनुसार बिहीबार बिहान १ बजेर ५९ मिनेटको समयमा उक्त यान उत्तरी चीनको इनर मंगोलिया स्वायत्त क्षेत्रको सिजिवाङ बानर भन्ने स्थानमा अवतरण गरेको थियो ।

चन्द्रमाबाट चट्टानको नमूना पृथ्वीमा ल्याइएको यो ४० वर्षपछि पहिलो पटक हो । यसअघि सन् १९८० ताका अन्तिम पटक चन्द्रमाबाट चट्टानका नमूना पृथ्वीमा ल्याइएको थियो ।
चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले यो कार्यले चन्द्रमाको खोज एवं सफलतापूर्वक चट्टान पृथ्वीमा ल्याउने एउटा महत्वपूर्ण अभियान सम्पन्न भएको जनाएको छ । यो अभियान सन् २००४ देखि शुरु भएको थियो ।
चाङ–ए ५ अभियान चीनको अन्तरिक्ष इतिहासमा एउटा सर्वाधिक जटिल एवं चुनौतीपूर्ण अन्तरिक्ष अभियान रहेको थियो । यस अभियानको अन्तिम प्रक्षेपण गत नोभेम्बर २४ मा गरिएको थियो र चन्द्रमामा ल्यान्डर गत डिसेम्बर १ मा अवतरण गरेको थियो ।
यो अभियान सफल भएसँगै चीनका लागि धेरै विषयमा पहिलो भएको छ । चीनका लागि यो पहिलो नमूना संकलन हो, कुनै बाह्य ग्रह (चन्द्रमा) बाट पहिलो पटक उडान गरिएको छ, पहिलो पटक अर्को उपग्रहबाट आएको ल्यान्डरलाई मुख्य क्याप्सुलमा जोडिएको छ भने संकलित नमूना लिएको यान पहिलो पटक पृथ्वीतर्फ फर्किएको छ ।
चन्द्रमाबाट चट्टान ल्याइएसँगै अब चीनलाई चन्द्रमामा मानव अवतरणका लागि समेत बाटो खुलेको चिनियाँ वैज्ञानिकहरुको विश्वास छ जसका लागि उनीहरुले तयारी शुरु गरिसकेका छन् ।
केही समय शिथिलझैं देखिएको अन्तरिक्ष विज्ञानको खोज र अनुसन्धानका क्षेत्रमा पछिल्लो समय अमेरिका र रुसले फेरि तिब्र बनाउन थालेका छन् । – सिन्ह्वा











